Logo

सिन्धुपाल्चोकको पाँचपोखरीमा नमूना विद्यालय निर्माण



सिन्धुपाल्चोक,  १६ चैत्र । पाँचपोखरी थाङपाल गाउँपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको थाङपाल भ्याली मावि भवन निमार्ण सम्पन्न भएको छ । बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने सो विद्यालय प्रदेशभित्रकै दोस्रो विद्यालय हुनेछ । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टालटुलेश्वरी आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा एउटै नमूना विद्यालय बनाइएको हो ।

एसियाली बैंक (एडिबी)को २४ करोड लागत अनुमान अनुसार अहिले विद्यालयको सुविधा सम्पन्न पाँच भवन (ब्लक) निर्माण सम्पन्न भएको छ । गुणस्तरीय र प्राविधिक शिक्षालाई आत्मसात् गर्दै पालिकाले चार विद्यालयलाई गाभेर १२ कक्षासम्म सञ्चालन गर्ने गरी थाङपाल भ्याली मावि विद्यालय बनाएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजाघर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन हुनेछ । ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि हुने देखिएपछि विद्यार्थीसँगै अभिभावक पनि खुसी छन् ।

गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५६ कोठे पाँचवटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताए । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ ।

विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरु आभारी रहेको उहाँको भनाइ छ ।यो भवन भोलि राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुँदैछ ।

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफँैले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।

बल्ल नदी नियन्त्रणको काम सुरु

गत असार १ गते र त्यसपछि आएका बाढीले हेलम्बु, मेलम्ची, पाँचपोखरी र इन्द्रावतीका केही भेगमा अतुलनीय क्षति पु¥यायो । हजारौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भयो भने सयौँ नागरिक विस्थापित भए । बाढीपछि हिउँदको समयमा समेत सरकारले विकल्पका बारेमा केही गरेन भनेर स्थानीयवासीले आरोप लगाइरहँदा मेलम्ची नगरपालिकाले भने बल्ल नदी नियन्त्रणका लागि काम थालेको छ ।

नगरपालिकाबाट दुई करोड ५० लाख विनियोजन गरी पाँच खण्डमा विभाजन गरी मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाको सिमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहि¥याउने, उच्च जोखिम भएको ठाउँमा नदीलाई नियन्त्रण, आवश्यकताअनुसार पर्खाल लगाउने बस्ती तथा संरचनाको रक्षा गर्ने योजनाअनुसार काम भइरहेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए ।

आगामी बर्खा अगावै सम्भावित क्षति रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक सतर्कतासहित काम अगाडि बढाइएको उनले बताए । तत्कालका लागि राहत तथा पुनःस्थापनाको काम गरे पनि अब दिगो र सरक्षित स्थानको खोजी गरी स्थायी आवासको प्रक्रिया अगाडि बढाउने प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिए। विज्ञको सुझावअनुसार अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ खोला नियन्त्रण, बस्ती संरक्षण, पुनःनिर्माण तथा पुनःस्थापनाका लागि तत्काल गर्नपर्ने कार्यहरुमध्ये नदीको सतहलाई गहि¥याउनु पर्ने सुझाव आएको हुनाले नदी तटीय बस्ती तथा संरचानाहरुलाई संरक्षण गर्ने र यथावत् रहेको नदीलाई गहि¥याउने काम सुरु गरिएको उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्