काठमाडौं, १६ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० चैत्रमा गर्ने भारत भ्रमणमा चासो बढेको छ । नेपालसँग भौगोलिक र सांस्कृतिक निकटता रहेको भारत भ्रमणमा महत्वपूर्ण सम्झौताहरु हुने भएको छ । भारतले विशेषगरी नेपालमा पूर्वाधार विकासमा गर्दै आएको सहयोगबारे चासोहरु भएका छन् । भविष्यमा कुन कुन परियोजना बढ्ने हो ? यसबारे पनि बहस चल्न थालेको छ ।
भारतले नेपालसँग यातायातमार्फत् सम्पर्क बढाउने पूर्वाधारमा ध्यान दिएको छ । जल, स्थल र वायुमार्गबाट यस्ता सम्पर्क बढाउने पूर्वाधारहरु अगाडि बढाइएका छन् । दुई देशले पूर्वाधार विकास र क्षेत्रीय सम्बन्ध बढाउने सम्झौताहरु पनि गरेका छन् ।
नेपालले कुल व्यापारको ६५ प्रतिशत भारतसँग गर्दै आएको छ । नेपालको ट्रन्जिट ट्रेडमध्ये ९८ प्रतिशत भारतसँग रहेको छ । हवाई रुटमार्फत् कार्गो ढुवानीको सहजीकरण, छिटो र सस्तो जलमार्ग र अन्तरसीमा रेलमार्गलाई सहज बनाउन पनि कामहरु भइरहेका छन् ।
भारतको सहयोगमा ठूला र साना राजमार्ग, पुल र सडक निर्माण तराईका जिल्लाहरुमा भइरहेका छन् । यसले सीमा क्षेत्रमा व्यापारको सहजीकरण हुने अपेक्षा गरिएको छ ।
५२ अर्ब भारु बराबरको सडक आयोजनाहरु कार्यान्वयन भएका र हुनेवाला रहेका छन् । यसको उद्देश्य दुई देशबीच कनेक्टिभिटीमा रहेको बताइएको छ । जसमध्ये १४४ किलोमिटर रुपन्देही बाराबान्की, १८४ किलोमिटर सुनौली गोरखपुर, जोगवनी फोबेसगञ्ज, पिप्राकोडीबाट रक्सौलका अलावा १० अन्य सडक पनि पर्दछन् ।
भारतको सहयोगमा अन्तरसीमा पेट्रोलियम पाइपलाइन निर्माण भई आपूर्ति भइरहकेो छ । यसले नेपाललाई ढुवानी सस्तो पर्न गएको छ । ६९ किलोमिटर लम्बाईको पाइपलाइनलाई गेमचेन्जिङ आयोजना भनिएको छ ।
नेपाल र भारतबीच रेल्वे नेटवर्कको काम पनि चलिरहेको छ । अहिलेसम्म ६ वटा रेल्वे आयोजना अगाडि बढिरहेको छ । जसमध्ये जनकपुर-जयनगर हुँदै बर्दिवास, विराटनगरबाट जोगवनी, भैरहवाबाट नौतनुहवा, नेपालगञ्जबाट रुपेडिया र काकडभिट्टाबाट जलपाइगुरी र काठमाडौं-रक्सौल छन् ।
भारतले गंगा नदीको जलमार्ग विकास गरेको छ । यसले बनारसलाई हल्दी कलकत्ता बन्दरगाहसँग जोडेको छ । नेपाललाई पनि जलमार्गबाट बन्दरगाहसम्म जोड्ने गरी भारतले जलमार्ग विकास गर्ने बताइएको छ । नेपालले आफ्नै जहाज गंगा नदीमा चलाउने विषय पनि चर्चामा छ ।
भारतसँग विराटनगरमा संयुक्त चेकपोष्ट पनि बनिसकेको छ । चेकपोष्ट व्यापारलाई सहज र सुरक्षित बनाउन महत्वपूर्ण फड्को बनेको छ । वीरगञ्जमा रहेको चेकपोष्ट पनि भारतको सहयोगमा बनेको हो । भारतको सहयोगमा सुनौली भैरहवा र नेपालगञ्ज-नेपालगञ्ज रोडमा चेकपोष्ट निर्माणका क्रममा छ ।