Logo

मुलुकको सञ्चार क्षेत्रमा रिपोर्टर्स क्लब नेपाल ठूलो खम्बा हो, यस्तो निष्पक्ष प्लेटफर्म भूतो न भविष्यतिः डा. सुन्दरमणि दीक्षित



काठमाडौं, १७ चैत । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेपाललाई रिपोर्टर्स क्लब नेपालजस्तो निष्पक्ष प्लेटफर्म भूतो न भविष्यति भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अगुवा डा. दीक्षितले भने, “कतिपय संस्था एक, दुई वर्ष फर्‍याफुरुक गरेर बिलाउँछन् । तर रिपोर्टर्स क्लब नेपाल आज २४ औं वार्षिकोत्सव मनाउँदै छ । अर्काे वर्ष झन् विशेष रुपमा मनाउनुपर्छ । मुलुकको सञ्चार क्षेत्रमा यो निकै ठूलो खम्बा बनिसकेको छ । कुनै पार्टीको भेदभाव नगरीकन सबैको विचार प्रकट गर्न दिने यति निष्पक्ष प्लेटफर्म नेपालमा अरु छँदै छैन । तपाईंले बोलाएपछि नआउने कुनै नेता वा व्यक्ति छैन । आउँदा दिनमा यो निष्पक्षता मेन्टेन गर्नुस् । सत्य, तथ्य कायम गर्नस् । नेपाललाई रिपोर्टर्स क्लब नेपालजस्तो निष्पक्ष प्लेटफर्म चाहिन्छ ।”
मुलुकलाई अप्ठ्यारो परेका बेला रिपोर्टर्स क्लब नेपालले जहिल्यै सहयोगी भूमिका निर्वाह गरेको डा. दीक्षितले बताए । उनले भने, “आर्थिक संकटका कारण रिपोर्टर्स क्लबले पटक पटक ठाउँ सर्नुपरेको छ । तैपनि जब जब मुलुकमा गडबडी हुन्छ, त्यसलाई सल्टाउन सल्टाउन मद्दत गरेको छ । म सम्झन्छु, हामी रिपोर्टर्स क्लबमा बोल्दै थिएँ । आधा घण्टाभित्र कफ्र्यु लाग्ने सूचना आएपछि घर कसरी जाने भन्ने समस्या पर्‍यो। तपाईंको मोटरमा दौडादौड गरेर पुगियो । मलाई शाही सरकारले दुवाकोटमा थुन्दा पनि तपाईं नै भेट्न आउनुभयो । ५२ वर्षको प्राक्टिस गरेको मेरो अनुभवका आधारमा यति दिनरात खटिने, एफएम, टीभी, क्लबमा तपाईंको जेहेन अद्वितीय छ । राजनीतिमा धेरै मानिसले प्रचण्ड, देउवा, ओली, माधव नेपाल आदिको नाम लेलान् । तर सञ्चार क्षेत्रमा ऋषि धमलाजस्तो तगडा कोही छैन ।”
अर्को प्रसंगमा डा. दीक्षितले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा दुई देशबीचको समस्या मीठा किमिसले समाधान हुने विश्वास पनि व्यक्त गरे । उनले भने, “भारत हाम्रो पारिवारिक मित्र हो । हामीले १० लात हाने पनि उसले एक लात हान्दैन । हामीबीच समाधान गर्न नसकिने कुनै समस्या छैनन् । देउवाले मीठो हिसाबले समाधान गर्न सक्नुहुन्छ । हामीले झगडा होइन, दुवै देशको हित हेरौं ।”
उनले गठबन्धन नगरीकन एक्लै लड्ने केपी शर्मा ओलीको हिम्मतको प्रशंसा पनि गरे । उनले थपे, “पावरका पुजारी हौं हामी नेपाली । पावरका लागि जे पनि गर्छौं । ओलीजीले एक्लै लड्ने भनेर धेरै ठूलो हिम्मत देखाउनुभएको छ । तर कांग्रेसले लुतेपन देखायो । सारा मुलुकमा फैलिएको रुखको छहारीमा विश्वास गरेन । भाइ कम्युनिस्ट हो कि दाइ कम्युनिस्ट जस्तो भयो । उसले राष्ट्रिय स्तरमा गठबन्धनमा जाने निर्णय गरिहालेको छैन । कहीं कतै तालमेल गर्दा आपत्ति पनि हुँदैन ।”



प्रतिक्रिया दिनुहोस्