काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टीका नेता मनीषकुमार सुमनले सीताराम भनेजस्तै रिपोर्टर्स क्लब नेपाल र ऋषि धमला पर्यायवाची भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “सीता र राम, मदनकृष्ण र हरिवंश, आलु र प्याज भनेजस्तै रिपोर्टर्स क्लब र ऋषि धमला पर्यायवाची हुन् । एकअर्काबिना परिचय अधुरो हुन्छ । ऋषि धमलाले रिपोर्टर्स क्लबलाई चार चाँद लगाइदिए ।”
सबै क्षेत्रका व्यक्तिले ऋषि धमलाले जस्तो श्रम गर्न सक्नुपर्ने सुमनले औंल्याए । उनले भने, “म विद्यार्थीकालदेखि रिपोर्टर्स क्लबसँग निरन्तर रुपमा जोडिन पाउने पात्र हुँ । सही सूचना पाउने मञ्च रिपोर्टर्स क्लब हो । ऋषि धमला बिहान सुतेर उठ्दा रेडियोमा बोलिरहेको सुन्छु । राति सुत्न लाग्दा टेलिभिजनमा मनमा लागेको प्रश्न बेवाक् रुपमा सोध्न सक्ने ल्याकत भएको पत्रकारका रुपमा देख्छु । तपाईंको व्यस्तता देखेर म सोध्ने गर्छु, ‘तपाईंको छोरीको नाम के हो ?’ हरेक क्षेत्रमा लागेको नेपालीले यसरी नै श्रम गर्ने हो भने परिवर्तन सम्भव छ ।”
राष्ट्रवादी हुनलाई भारतको विरोध गर्ने हीन मानसिकता त्याग्नुपर्ने औंल्याए । उनले भने, “भारतसँग नेपालको सबैभन्दा प्रिय र अटुट सम्बन्ध छ । रोटीबेटीको सम्बन्ध छ । हाम्रा २६ लाख चेली बिहार र उत्तरप्रदेशमा जान्छन् । भारतका २८ लाख चेली यहाँ आउँछन् । भारतसँग हाम्रो सरकार र सरकारको सम्बन्ध मात्र होइन, जनता र जनताबीचको सम्बन्ध छ । राष्ट्रवादी हुनलाई भारतको विरोध गर्ने हीन मानसिकता त्याग्नुपर्छ । भारतले सीमा मिचेको कुरा आउँछ, चीनले मिचेको कुरा आउँदैन । चाइनाप्रति लोयल र भारतप्रति वैमनष्य व्यवहार सुहाउँदैन । प्रधानमन्त्रीको भारत भ्रमणलाई लाभको रुपमा लिनुपर्छ ।”