Logo

गिरफ्तार हुन सक्छु भनेर रिपोर्टर्स क्लबको साक्षात्कारमा गएको थिएँः डा. भीम रावल



काठमाडौं, १७ चैत । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले विगत २४ वर्षदेखि आफूले ऋषि धमलालाई निर्भीक र स्वतन्त्र सञ्चारकर्मीको रुपमा लिएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “मैले थाहा पाएसम्म २४ वर्षसम्म रिपोर्टर्स क्लबको अध्यक्ष रुपमा तपाईंले देश, जनता र जनजीविकाबारेमा अथक सूचना, जानकारी, विश्लेषण दिनुभएको छ । म अनेक पटक क्लबमा अन्तरक्रिया गरेको छु । तपाईंलाई सदैव निर्भीक र स्वतन्त्र सञ्चारकर्मीको भूमिका निर्वाह गरेको पाएको छु । सञ्चार जगत्मा निकै ठूलो सफलता प्राप्त गरेको छ ।”
डा. रावलले राजाको प्रत्यक्ष शासनकालमा पनि रिपोर्टर्स क्लब नडगमगाएको बताए । उनले थपे, “राजाले शासन हातमा लिएको बेला कसैले मुख खोलेका थिएनन् । जताततै स्तब्धता थियो । त्यतिबेला मैले रिपोर्टर्स क्लबमा गएर बोलेको थिएँ । घरमा मैले गिरफ्तार हुन सक्छु भनेर लत्ताकपडाको जोहो गरिदिन भनेर क्लबमा गएको थिएँ ।”
अहिले राजनीतिक दलहरु गन्तव्यहीन यात्रामा लागेको आरोप पनि उनले लगाए । डा. रावलले भने, “तीनवटा वामपन्थी दल कांग्रेससँग टाँसिएर सरकारमा छन् । अर्को वामपन्थी दल घोर दक्षिणपन्थीसँग साँठगाँठ गर्ने तयारीमा छ । नेताहरु फगत सत्ता र कुर्सीको मोहमा छन् । तोरी र कोदो एकै ठाउँमा मिसाएपछि रोटी बन्छ कि तेल बन्छ ? अर्कोलाई जसरी पनि हराउने, आफू जसरी पनि जित्ने खालको सिद्धान्तहीन राजनीतिबाट कहीँ पनि पुगिँदैन ।”



प्रतिक्रिया दिनुहोस्