Logo

‘ऋणको पासो’ मा परेको श्रीलंका दैनिक १३ घन्टा अन्धकारमा, राष्ट्रपतिको घरमा आगो लगाउने प्रयास



एजेन्सी, १८ चैत्र । विदेशी ऋणको पासोमा परेर टाट पल्टन लागेको श्रीलंकामा ठूलो संकट आएको छ । श्रीलंका पेट्रोलियम पद्धार्थ मात्र नभई परीक्षाका लागि कागज समेत किन्न नसक्ने हालतमा पुगेको छ ।

दैनिक उपभोग्य सामाग्रीको अभावले महङ्गी चुलिएको छ । असह्य भएपछि त्यहाँका जनता सरकारविरुद्ध संघर्षमा उत्रिएका छन् । उनीहरुले राष्ट्रपति गोटाबाया राजापाक्षेको निजी निवासमा आगो लगाउने प्रयास गरेका छन् । यस क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको छ ।

आर्थिक संकटले श्रीलंकामा दंगाहरु भड्कन थालेपछि कफर्यु आदेश जारी गरिएको छ । कफर्यु तोड्दै कतिपय मानिसहरु फलामको डन्डी, लाठी र धारिलो हतियार लिएर निस्किएका छन् । प्रहरीले उनीहरुविरुद्ध अश्रु ग्याँस र पानीको फोहराको प्रयोग गरेको छ । तर, प्रदर्शनकारीले प्रहरीको गाडीमा समेत आगो लगाएका छन् ।

श्रीलंका अहिले १३ घन्टा दैनिक लोडसेडिङमा पर्न थालेको छ । २ करोडभन्दा बढी जनसंख्या रहेको टापु राष्ट्रमा अस्पतालहरु पनि नियमित चलाउन समस्या परेको छ । शल्यक्रियाहरु रोकिएका छन् ।

श्रीलंकाले भारत र चीनसँग सहयोग मागिरहेको छ । भारत र चीनले श्रीलंकालाई डेढ अर्ब डलरको ऋण सहयोग दिने घोषणा गरिसकेका छन् । तर, श्रीलंका ठूलो ऋणमा फसिसकेको छ ।

विशेषगरी श्रीलंका चीनको बीआरआई अन्तर्गतको ऋणमा फसेको छ । चीनले अरबौं डलरको पूर्वाधार ऋणमा बनाइदिएको छ । ऋणको ब्याज समेत भुक्तानी गर्न नसक्दा श्रीलंका अप्ठ्यारोमा परेको छ ।

विगतमा पृथकतावादी तालिमहरुको सशस्त्र गतिविधिका बेलामा भन्दा कठिन अवस्थामा श्रीलंका परेको छ । उसले विकास गरेका पूर्वाधार उसैका लागि घाँडो सावित हुृन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्