Logo

भारत भ्रमण सकारात्मक र महत्त्वपूर्ण



काठमाडौं, चैत २१ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण दुई देशबीच अल्झिएका थुप्रै विषयलाई समाधान गर्न राजनीतिक तथा कूटनीतिक तहमा सकारात्मक वातावरण तयार गर्न सार्थक बनेको प्रतिक्रिया विज्ञहरूले दिएका छन्।

भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले लामो अन्तरालपछि नेपालका प्रधानमन्त्रीको भारतको औपचारिक भ्रमण भएकाले यसको महत्व भएको बताउँदै भने, “दुई देशबीच केही समस्या थिए, त्यसको पृष्ठभूमिमा भएको भ्रमणलाई सकारात्मक र महìवपूर्ण रूपमा हेरिनुपर्छ । यो सम्बन्धको सुरुवात हो ।”

विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि दुई देशबीचको सम्बन्धमा चिसोपन बढेको थियो । सुरुमा भारतले नेपाली भूमि समेटेर एकपक्षीय रूपमा नयाँ नक्सा जारी गरेको थियो । त्यसलगत्तै नेपालले पनि भारतबाट अतिक्रमण गरिएको नेपाली भूमिसहितको चुच्चे नक्सा जारी गरेको थियो ।

यस घटनापछि दुवै देशका नेतृत्वबीच संवादविहीन अवस्था सिर्जना भएको थियो । प्रधानमन्त्री देउवाको भ्रमणबाट दुवै देशको सम्बन्धमा देखिएको चिसोपन हट्नुका साथै सीमा समस्या समाधान गर्ने दिशामा आशाका किरण देखिएको विज्ञहरूले बताएका छन्।

भारतका लागि नेपालका अर्का पूर्वराजदूत प्रा डा लोकराज बरालले भारतीय विदेश सचिव हर्षबर्धन शृङ्गलाले सीमाका बारेमा राखेको धारणा सकारात्मक रहेको बताउँदै भने, “संयन्त्रमार्फत सीमा विवादलाई समाधान गर्ने कुरा सकारात्मक हो, यस विषयलाई राजनीतीकरण नगर्ने र संयमित रूपले समाधान गर्ने प्रतिबद्धता आउनु राम्रो कुरा हो ।” गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्