काठमाडौं, २१ चैत । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा देखिने उपलब्धि केही नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे पार्टीले आधिकारिक धारणा बनाइसकेको छैन । प्रतिनिधिमण्डलका सदस्यसँग पनि कुराकानी भएको छैन । सत्ता गठबन्धनमा पनि छलफल भएको छैन । उहाँको भ्रमणका बारेमा मिश्रित प्रतिक्रियाहरु आएका छन् । उहाँ प्राटोकल मिचेर भारतीय जनता पार्टीको अफिसमा जानुभयो भन्ने कुरा पनि छ । खासै उपलब्धि देखाउने कुरा छैनन् । उहाँ छिमेकी मित्रसँग चिया खान मात्र जानुभएको त होइन नि ।”
उपमहासचिव खतिवडाले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्ने भन्ने कुरालाई उपलब्धिका रुपमा लिन नमिल्ने बताए । उनले थपे, “सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने कुरा त पहिलेदेखि नै भएको हो नि । शब्दमा उठाइदिएर मात्र होइन ? त्यसबारे के कस्तो गृहकार्य भयो ? कुन मोडालिटीमा समाधान गर्ने ? हामीले कुन कुन समस्या समाधान गरेर आयौं त ? ईपीजी रिपोर्ट कहाँ गयो ? नेपाली जनतालाई जानकारी गराउनु पर्दैन ?”
नेपालको बिजुली बेचेर पेट्रोलियम पदार्थ आयात गर्ने कुराले समाजवाद निर्माण नहुने पनि उनले औंल्याए । खतिवडाले भने, “ऊर्जा सहकार्य द्विपक्षीय आवश्यकता हो । बिजुली र पानी भारतको पनि आवश्यकता हो । भारतलाई बिजुली बेचेर खर्बौंको पेट्रोलियम किन्ने कुरा समाजवाद निर्माणसँग जोडिन्छ कि जोडिँदैन ? देशभित्र बिजुलीको खपत नबढाईकन आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण हुन सक्दैन ।सधैं अरुका लागि मात्र काम गरी आफ्ना लागि कहिले काम गर्ने ?”
स्थानीय तहमा नै गठबन्धन गर्ने भन्ने कुराले भाँडभैलो निम्त्याउने उनले बताए । खतिवडाले भने, “नेपालको राष्ट्रिय आवश्यकता गठबन्धनले बनेको हो । स्थानीय आवश्यकता अनुसार गर्ने भनेर तलमात्र जिम्मेवारी दिँदा भाँडभैलो हुन्छ । सबै ठाउँमा गठबन्धन नहुने भन्दाखेरि कुनै पनि ठाउँमा नहुन सक्छ ।” साथै उनले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाएपछि न्यायिक स्वच्छता कायम हुने विश्वास गरे ।