काठमाडौं, २१ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डप उद्घाटन गरेको विषय विवादमा परेको छ । सर्वोच्च अदालतको अन्तरिम आदेश अवज्ञा गर्दै काष्ठमण्डप पुनः निर्माण समितिले उद्घाटन गरेको भन्दै विरोध भएको छ ।
राष्ट्रपतिले आज हनुमानढोका दरबार क्षेत्रको वसन्तपुरमा पुर्ननिर्माण गरिएको काष्ठमण्डपको उद्घाटन गरेकी हुन् । सर्वोच्च अदालतमा ऐतिहासिक पुरातात्विक चार गणेश र गोरखनाथको मूर्ति परिवर्तन गरी नयाँ मूर्ति स्थापना गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता तथा संरक्षण अधिकारकर्मी सञ्जय अधिकारीले २८ पौषमा सर्वोच्चमा त्यसविरुद्ध रिट दायर गरेका थिए । सर्वोच्चले त्यसमा अन्तरिम जारी गर्दै मूर्तिहरु विस्थापित गर्नेलगायतको काम नगरी रिटको अन्तिम किनारा नलागेसम्म यथास्थितिमा राख्ने आदेश दिएको थियो ।
सर्वोच्चको आदेश विपरित काष्ठमण्डम पुनः निर्माण समितिले उद्घाटन आयोजना गर्न लागेको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गरिसकेका थिए ।