काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसको स्थानीय तहमा उम्मेदवारहरुको धमाधम टुंगो लगाइँदै थियो । वडा कार्यसमितिले २१ चैत्रमा उम्मेदवारहरुको सम्भावित नामावली तयार गरिसकेको छ ।
वडा तहबाट अध्यक्ष र सदस्यहरुको नामावली सिफारिश गरिएको छ । पालिकाले २३ चैत्रमा नाम टुंग्याउने तयारी गरिरहेको थियो । तर, आजै काँग्रेस केन्द्रीय कार्यालय सानेपाबाट जिल्लाहरुमा मौखिक निर्देशन गएको बुझिएको छ । तत्काल नामावलीको टुंगो नलगाउन भनिएको छ ।
अब अन्तिम नामावलीहरु टुंगो नलगाई नामहरु सिफारिश मात्र गरिने भएको छ । अब २५ चैत्रमा निर्वाचन क्षेत्र कार्यसमितिले, प्रतिनिधि सभा निर्वाचन क्षेत्र कार्यसमितिले २७ चैत्रमा, जिल्ला कार्यसमितिबाट २९ चैत्रमा र प्रदेश कार्यसमितिबाट १ वैशाखमा टुंगो लगाउने भनिएको नामबारे अलमल हुने भएको छ ।
नामहरुको सिफारिश भएपनि अन्तिम नामावली भने टुंगो नलगाइने बुझिएको छ । सत्ता गठबन्धनबीच वडा देखि पालिका तहसम्म तालमेलको चर्चा चलिरहेको छ । यसकारण पनि काँग्रेसले अहिलेलाई नाम नटुंगाइहाल्ने बुझिएको छ । तर, सम्भावित नामहरुको भने सिफारिश हुने भएको छ ।