काठमाडौं, २६ चैत । सुदूरपश्चिम प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले प्रदेश सरकारलाई सफल बनाउन लागिपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रावलले भने, “नेपाली कांग्रेसको सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीमै दाबेदारी थियो । तर देश, काल, परिस्थिति हेर्दा सबै मिलेर सरकार चलाउनुपर्ने देखिएकाले हामी मौजुदा सरकारमै सहभागी भएका हौं । हामी सुदूरपश्चिमको उन्नति, प्रगति र शान्ति सुरक्षा कायम गरी सरकारलाई सफल बनाउन लाग्छौं ।”
आन्तरिक मामिला मन्त्री डा. रावलले अहिलेको स्थितिमा गठबन्धन बाध्यकारी रहेको पनि औंल्याए । उनले भने, “सुदूरपश्चिममा साढे ३ वर्ष नेकपाको सरकार थियो । तर जनताले घरदैलोमा सरकार या विकास र सुशासनको अनुभूति गर्न पाएनन् । अहिलेको विशिष्ट परिस्थितिमा वडा तहसम्म गठबन्धन गरेर जानुपर्ने स्थिति छ । मुलुकलाई स्थिर सरकार दिएर राष्ट्रिय राजनीतिलाई अघि बढाउनुपर्ने अवस्था छ ।”
उनले गठबन्धनका घटक दलहरुलाई लोकतान्त्रिक होइन भन्ने स्थिति नरहेको पनि दाबी गरे । डा. रावलले भने, “उहाँहरु पनि संविधानलाई मानेर अघि बढ्नुभएको छ । लोकतन्त्रलाई बलियो बनाउने पक्षमा हुनुहुन्छ । त्यसैले गठबन्धनका घटक दलहरुलाई लोकतान्त्रिक होइन भन्ने स्थिति छैन ।”