काठमाडौं, चैत २७ । सरकारी अनुदानको रासायनिक मल ल्याउने ठेक्का पाएका कम्पनीहरूले मल ल्याउन नसक्दा यसपालिको चैते बाली प्रभावित हुने देखिएको छ । कोरोना महामारीको प्रभाव र चीनको नयाँ निर्यात नीतिका कारण ठेक्का सम्झौताको म्याद सकिँदासम्म उनीहरूले मल आयात गर्न नसकेका हुन् ।
मल आयातका लागि चारओटा कम्पनीले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग ठेक्का सम्झौता गरेका थिए । सिल्क मार्केट प्रालि, जेन ट्रेड, जेएस ट्रेड कम्पनी र इन्डियन पोटास लिमिटेडले कृषि सामग्री र साल्ट ट्रेडिङसँग मल ल्याउन सम्झौता गरेका थिए ।
उनीहरूले ठेक्का सम्झौताको म्याद सकिँदासम्म मल आयात गर्न सकेका छैनन् ।
कृषि सामग्री कम्पनीका सूचना अधिकारी अशोककुमार खड्का सम्झौता गरेका कम्पनीले मल ल्याउन सक्ने सम्भावना कम रहेको बताउँछन् । ‘यही अवस्था रहिरहे पछि पनि मल आउने सम्भावना न्यून छ,’ उनले भने, ‘त्यो भयो भने चैते धान र मकैलाई समस्या पर्न सक्छ ।’
ठेक्का लिएका कम्पनीले मल ल्याउन नसक्नुमा कोरोना महामारी र चीनको नयाँ निर्यात नीति भएको उनले बताए । खेतीपातीको सिजनमा रासायनिक मल नपाउने समस्या किसानले हरेक वर्ष झेल्दै आएका छन् । यस वर्ष पनि दोहोरिने संकेत देखिइसकेको छ ।
साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीका अनुसार इन्डियन पोटास लिमिटेडले २५ हजार मेट्रिक टन डीएपी र ७५ हजार टन युरिया आयातका लागि कर्पोरेशनसँग गत पुसमा ठेक्का सम्झौता गरेको थियो । यो भारतको सरकारी कम्पनी हो । म्याद सकिएको महीना दिन बित्दासम्म उसले २५ हजार टन डीएपी मात्र आयात गरेको छ । बाँकी ७५ हजार टन युरिया आयात हुनेरनहुने अहिलेसम्म टुंगो लागेको छैन ।
कृषि सामग्रीसँग ठेक्का सम्झौता गरेका तीनओटा कम्पनीले पनि म्याद सकिएको महीना दिनसम्म मल आयात गर्न सकेका छैनन् । सिल्क मार्केट नामक नेपाली कम्पनीले कृषि सामग्रीसँग ६० हजार टन युरिया र ५ हजार टन डीएपी आयातका लागि सम्झौता गरेको थियो । सम्झौताको म्याद सकिइसकेको छ ।
त्यसैगरी, जेन ट्रेडले कृषि सामग्रीसँगै २५ हजार टन युरिया र ५ हजार टन डीएपी आयातका लागि २ छुट्टाछुट्टै सम्झौता गरेको थियो । अर्को कम्पनी जेएस ट्रेडले कृषि सामग्रीसँगै २५ हजार टन डीएपी आयातका लागि सम्झौता गरेको थियो । यी सबै ठेक्काको म्याद सकिएको छ । मल आउने छाँटकाँट छैन । आर्थिक अभियान दैनिकबाट