काठमाडौं, २७ चैत । नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले आफ्नो पार्टी नेकपा एमालेसँग नडराउने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ढुंगानाले भने, “नेपाली कांग्रेसले एमालेसँग डराएर गठबन्धन गर्न लागेको होइन । कांग्रेस एमालेभन्दा बलियो छ र यो हैसियत भएको पार्टी हो । २००७ देखि २०६३ सम्म नेपाली कांग्रेसको फेर समाएर पार पाएको पार्टीले ठूलो फूर्ति लगाउनु पर्दैन ।”
गठबन्धनमा सकस भए पनि निकास निस्कने उनले औंल्याए । ढुंगानाले भने, “मुलुकमा राजनीतिक संकट टरेको छैन । राजनीतिक स्थिरताबिना आर्थिक उन्नति हुन सक्दैन । त्यसैले हामी गठबन्धनकै आधारमा चुनावमा जान्छौं । गठबन्धनमा सकस हुनु ठूलो कुरा होइन । तर सकसकै बीचमा निकास निकाल्नुपर्छ । वैशाख १, २ गतेसम्म हामी व्यवस्थापन मिलाउँछौं ।”
कांग्रेसमा पैसावालाले मात्र टिकट पाउने अवस्था नरहेको पनि उनले बताए । उनले थपे, “ऋषिजी, कांग्रेसमा पैसावालले मात्र टिकट पाउने भए मैले तीन चोटि लगातार जित्नु सम्भव थिएन । पार्टीमा लगानी र योगदान गरेका मानिसलाई बिर्सन मिल्दैन ।”
उनले गभर्नर महाप्रसाद अधिकारीले गोप्य सूचना लिकेज गरेको आरोप पनि लगाए । ढुंगानाले भने, “अहिले कोरोना महामारी र रुस—युक्रेन युद्धका कारण विश्वभरि नै आर्थिक मन्दी र संकट आएको छ । गोप्य कुरा लिकेज आरोप गभर्नरमाथि लागेको छ । आरोप सही पनि हुन सक्छ, नहुन पनि सक्छ । छानबिनका लागि निलम्बन गरिएको हो । अहिले नै आतंकित हुनु पर्दैन ।”