Logo

मन्त्रीजीको लहडमा प्रमाणबिना गभर्नरलाई कारबाही गर्न पाइँदैनः डा. गोविन्दराज पोखरेल



काठमाडौं, २८ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले मुलुकको अर्थतन्त्र सुधारका लागि सबै मिलेर संयमित रुपमा अघि बढ्नुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. पोखरेलले भने, “विभिन्न सूचकले देशको आर्थिक व्यवस्था जटिल अवस्थामा पुगेको छ । त्यसैले हामीले संयमित भएर अगाडि बढ्नुपर्ने बेला छ । आर्थिक विकास कुनै एक दललाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो । त्यसैले यस्तो बेला लगानीकर्ता र बजारलाई आश्वस्त बनाउनुपर्छ । अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग र वित्त आयोगबीच समन्वय हुनुपर्छ ।”
गनर्भर निलम्बन प्रकरणलाई राजनीतिकरण गर्नुभन्दा अर्थतन्त्र सुधारका निम्ति सहकार्य गर्नु जरुरी भएको डा. पोखरेलले बताए । उनले भने, “नेपाल राष्ट्र बैंक स्वायत्त निकाय हो । उसको गभर्नरलाई मन्त्रीजीको लहडमा प्रमाणबिना त्यत्तिकै हस्तक्षेप गर्न पाइँदैन । गभर्नरलाई के कारणले कारबाही गरिएको हो, जनतालाई पारदर्शी रुपमा बताउनुपर्छ । अर्थमन्त्री आफू मात्र सफल भएर पुग्दैन, देशको अर्थतन्त्र पो सफल हुनुपर्यो । त्यसैले छानबिन प्रक्रियालाई राजनीतिकरण गर्नु जरुरी छैन ।”
अर्को प्रसंगमा उनले विप्लव माओवादीले अहिलेसम्म किन दल दर्ता नगरेको र किन सार्न खोजेको भनी प्रश्न गरे । डा. पोखरेलले भने, “स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारी भएको छ । विप्लवजीहरुको माग के हो ? निर्वाचनमा भाग लिने उहाँहरुलाई कुनै रोकावट भएको छैन । अहिलेसम्म किन दर्ता गर्नुभएन त ? उहाँहरुको मागका बारेमा राजनीतिक रुपमा सरकार र प्राविधिक रुपमा निर्वाचन आयोगले भन्ने कुरा हो ।”
स्थानीय तह निर्वाचनका लागि दुईतीन दिनभित्र गठबन्धनको कुरा टुंगिने उनको दाबी छ । स्थानीय तहमा माथिबाट उम्मेदवारी लाद्ने कुरा प्रत्युत्पादक हुने पनि उनले औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्