Logo

भागबन्डावादी गठबन्धनले एमालेको जित र अग्रता स्वीकार गरिसकेको छ, हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौंः विष्णु पौडेल



काठमाडौं, ३० चैत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीसँग एक्लाएक्लै लड्न सकिँदैन भनेर गठबन्धन भागबन्डामा लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “यो गठबन्धनले जानेकै यही भागबन्डा हो । उनीहरुसँग नेकपा एमालेसँग एक्लै लड्ने ह्याउ छैन । भागबन्डा गरेर उनीहरुले एमालेको जित र अग्रता स्वीकार गरिसकेका छन् । यो भागबन्डावादी गठबन्धन हो । उनीहरु लोकतन्त्रवादी, मार्क्सवादी, लेनिनवादी, माओवादी केही होइनन्, भागबन्डावादी हुन् ।”
२०७४ को चुनावमा तपाईंहरुले पनि भागबन्डा गरेको होइन र भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “त्यतिबेलाको स्थिति अर्कै थियो । अहिलेको रियालिटी के हो भने एमाले शक्तिशाली छ । बलियो छ । त्यसैले अंकगणितले नसकेर परमादेशले सरकार ढालियो । हामी गठबन्धनभन्दा जनमतमा विश्वास गर्छौं । हामी एक्लै लड्छौ, एक्लै जित्छौं ।”
नेता पौडेलले एमालेले योग्यता, इमानदारी, निष्ठा र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने पनि स्पष्ट पारे । साथै उनले स्थानीय तहको निर्वाचन सार्ने चलखेलप्रति आफ्नो होसियार रहेको बताए । उनले थपे, “नेत्रविक्रम चन्दको पार्टीसँग हाम्रो सरकारको पालामा वार्ता भयो, सहमति पनि भयो । सहमति कार्यान्वयन नगरीकन यो सरकारले के हेरेर बसेको छ ? तर चुनाव सार्ने र टार्ने कुरा उचित हुँदैन । कहीँ कतैबाट निर्वाचनमा प्रतिकूल प्रभाव नपरोस् । उहाँहरु सूर्य चिह्न लिएर लड्न तयार हुनुहुन्छ भने सोच्न सक्छौं ।”
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले चुनावी एजेन्डाका रुपमा गभर्नर निलम्बनलाई नलिएको पनि बताए । उनले भने, “अहिले देशको अर्थतन्त्र जोखिम उन्मुख छ । गभर्नर हठाउने नियतका साथ गरिएको निलम्बन औचित्यपूर्ण छैन । यो कुरा एमालेले मात्र नभएर मात्र नभएर कांग्रेस, माओवादी र विभिन्न अर्थशास्त्री पनि भनिसकेका छन् । सरकारले आफ्नो कमजोरीमा गभर्नरमाथि प्रहार गर्नु उचित होइन । यसलाई एमालेले चुनावी एजेन्डा बनाएको होइन । एमाले खरो र दह्रोसँग उभिने पार्टी हो ।”

 



प्रतिक्रिया दिनुहोस्