Logo

५०० वर्ष पुरानो सराङ्गकोट ऐतिहासिक किल्ला



कास्की, ३० चैत्र । पोखरा महानगरपालिका वडा नं. १८ को प्राचीन तथा प्रसिद्ध सराङ्गकोट किल्ला कुलमण्डल खान (शाह) का जिजुको पालामा नै स्थापना गरिएको थियो । सराङ्गकोट कास्की राज्य कास्की राजदरबार भएकोले थप सुरक्षाका लागी यहाँ कोत निर्माण भुमेकालिका शक्तिपिठ विकास भएको हो ।

इतिहासविद् ठाकुर प्रसाद त्रिपाठिका अनुसार सराङ्गकोटमा प्राचीन शैलीको वरपर घेरिएको शैन्य दुर्ग छ, दुर्गको बीचमा भुमेकालिका तथा भैरवको पुजा गरिने परम्परा निकै पुरानो छ । यो दुर्ग (कोट) ५०० वर्षभन्दा अगाडिको किल्ला हो, एकीकरणलाई आधार मान्दा लमजुङ गोर्खा भन्दा पनि अगाडिदेखी नै स्थापना भएको भुमेकालिका शक्तिपिठ र भैरव मन्दिर हुन् । सराङ्गकोटको उकालो आउँदै गर्दा चण्डीको उकालो आउँछ, पहिले त्यहाँ चण्डीको शिला मात्र थियो । उक्त चण्डीस्थान शत्रुलाई पराजय गर्न तथा नाश गर्न युद्धमा जाने प्रचलन थियो र जनताको पनि अगाध आस्थाको स्थल थियो ।

त्यस्तै ऐतिहासिक स्थल भूमरेगैरा हो । जुन ठाउँमा कस्केली सैन्यले धेरैपटक बाघ गर्जनमा पारेर अरु चौबीसे राज्यका आक्रमणकारी शैन्यलाई पक्रेर हायलकायल वा शरीर आत्मसमर्पण गराउने ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाह संग बिच्केर आएका उनका भाइ सुरप्रताप शाहलाई यही भूमरेगैराको बाघ गर्जनमा पारेर शरीर पक्रेर राजा सिद्दीनारायणको ताकतमा उपस्थित गराएका थिए ।

सराङ्गकोटको गोठादीको पनि ऐतिहासिक महत्त्व छ जहाँ चौबीसे राजाका पालामा उन्नत नश्ल गाइको पालन हुन्थ्यो त्यहाँ कास्की दरबार र लमजुङ दरबार सम्म त्यहाँको गाइको घिउ, गोरसको खुबै महत्त्व थियोे । द्रव्य शाह कास्कीमा आउँदा यहीँ गोठादीमा बस्ने गर्दथे भन्ने इतिहासमा पाइन्छ । ग्यारजाति मगरका ११ थरीको बस्ती भएकाले त्यस ठाउँलाई ग्यारजाति भनिएको हो । अर्को ठाँउ बाहाकोट पुरानो कोट हो यहाँ झाक्रीको पुजाआजा गरिन्छ । यसमा वरपर किल्ला भग्नावशेष छन् । गुरुङको खोरियाको तिलंग घर त अब भग्नावशेष पनि छैन ।

प्राचीन सुनपोखरी, बागेश्वरी मन्दिर, जोगि समाधी यहाँका ऐतिहासिक ठाउँ हुन् । धेरै वर्ष अगाडि पदेली भन्ने ठाउँ जोगि हरुको कुटि थियो उनीहरुले आफ्नो मृत्युको पुर्वअनुमान लगाएका थिए भीषण बर्षा र चट्याङबाट सातजना जोगिको मृत्यु भएछ । स्थानीयले त्यहीँ समाधी बनाएर अन्त्येष्टि गरेछन् । मेथलाङ्गको डाडामा रहेको शुक्लागण्डकी द्वारा निर्मित विभिन्न आकृति चिसापानी बेदबिद्या आश्रम थप सराङ्गकोटको आकर्षक स्थल हो ।

सराङ्गकोटको अर्को ऐतिहासिक ठाउँ ढुङ्गेदेउराली हो जुन औसदिको गल्छेदोमा पर्छ २० वर्ष पहिला मोटरबाटो नहुँदा पैदल यात्रुले त्यस ठाउँमा ढुङ्गा चढाउने चलन थियो त्यसैले यस ठाँउलाई ढुङ्गेदेउराली भन्ने चलन छ । स्याङ्जा नुवाकोटका राजा भक्ती खानले कास्की राज्य कब्जा गर्दै आएछन्, अनि उनै भक्ती खानले हालको मट्टीखानमा आफ्नो बिजय स्वरुप खाबा गाडेछन्, त्यसपछि राज्य बिस्तार गर्दै कास्की राज्य हत्याउने प्रयासमा पोखरा रोहोटेपानी हुँदै अगाडि बढेछन् यो सुइँको सराङ्गकोट बस्ने सैन्य जत्त्थाले थाहा पाएपछि कास्की दरबार र सराङ्गकोटका सैन्य मिलेर बाटोमै रोक्ने प्रयास गरेछन् यसै सिलसिलामा तल पोखरा देखि रोहोटेपानी आउदै गरेका भक्ती खानका सैनिकलाई ढुङ्गे देउरालीबाट घुयँत्राको मट्याङ्ग्रा खाली भएपछि देउरालीमा चढाएका ढुङ्गा बर्साउन थालेछन्, अन्त्यमा नुवाकोटे सैनिकलाई हायलकायल पारेर सेती नदि कटाउदै मट्टीखान पर पुर्याएछन् ।

इतिहासमा सराङ्गकोटको ढुङ्गेदेउरालीको ऐतिहासिक महत्त्व यस्तो छ भने, भक्ती खानले खाबो गाडेको हुँदा खाबो गाडेको ठाउँलाई हालको मट्टिखान भएको हो ।

सराङ्गकोटको नाम कसरी रहन गयो भन्ने बारेमा धेरै किंम्बदन्ती सुन्न पाइन्छ । सराङ्गकोट साराङ्ग भनेको धागोको तान हो जुनलाई साराङ्गिमा राख्दा र बजाउदा मिठो सुर स्वर दिन्छ । साराङ्गि जस्तै देखिने भएको यो पहाडलाई साराङ्ग भन्दै सराङ्गकोट भएको हो भन्ने मत छ भने अर्को मतमा कास्की चौबीसे राज्यको सामरिक महत्त्व बोकेको सराङ्गकोट सम्म कुलमण्डल शाहका भन्दा अगाडि देखिने ढाल तरबार सैन्यले अभ्यास गर्ने ठाउँ भएकोले यो ठाउँ सराङ्गकोट भएको भन्ने यदाकदा सुनिन्छ । जे होस् सराङ्गकोट आफैंमा ऐतिहासिक महत्त्व बोकेको छ ।

स्थानीय बासिका अनुसार किल्लाको पश्चिममा सार्दी खोला, पुर्वमा छिनेडाडा, उत्तरमा सिम्पानी लगायत हेम्जा र दक्षिणमा पुम्दीभुम्दी र बिरुवा समेत किल्लाको भू–भाग रहेको थियो । भुमेकालिका मन्दिरमा तामाका छाता, मौलो, त्रिशुल पछी पुरातत्त्व बिभागले लगेको थियो ।
भुमेकालिका भैरव मन्दिरमा पहिला कुमरद्वारा सराङ्गकोट भैरवको पुजा पछि कास्कीकोट भैरवको पुजा हुन्छ । चण्डीको डिलमा टागा राखेर पुजा गर्ने चलन थियो त्यहाँ चौबीसे राजाको पालामा कुवा थियो । कास्कीकोटको काखमा सराङ्गकोट छ ।

भुमेकालिका पुग्नु अगाडि पश्चिम नैरित्य तर्फ ओरालो बाटोमा भुमेकालिकाको प्रतीकको रूपमा ढुङ्गामा पाती चराएर दर्शन गरिन्थ्यो भने भुमेकालिकाको पुर्वतर्फ चन्डीको डिलमा टागा राखेर पुजा गर्ने चलन थियो । शत्रु परास्त गर्न शक्ति दाता चाण्डीको शिलालाई मन्दिर बनाई व्यवस्था गर्ने र यो कोटको पुर्वतर्फ चण्डी मन्दिर हुनुपर्ने शास्त्रीय मत र परम्परा हो । चण्डी मन्दिर नस्ट भएकोले चण्डी शिला र मन्दिर स्थापना गर्नु अत्यावश्यक देखिएको छ ।

ऐतिहासिक पहिचान बोकेको सराङ्गकोट किल्ला परिसरमा उत्खननको क्रममा दुईवटा ढुङ्गाका ओखल भेटिएको छन् त्यस क्षेत्रमा चौबीसे राजाको पालाको कुवा पनि रहेको छ । ऐतिहासिक धार्मिक पुरातात्त्विक मौलिक पहिचान बोकेको सराङ्गकोट किल्ला संरक्षणको अभावमा जिर्ण हुँदै गइरहेको छ । प्रदीप ढकाल पोखरा



प्रतिक्रिया दिनुहोस्