ललितपुर, १ वैशाख । महालक्ष्मी नगरपालिका ८ विष्णुडोलमा विगतमा तीन पटक लगाइएको श्रमद भागवत महायज्ञलाई समेटेर तयार गरिएको स्मारिका विमोचन गरिएको छ । आज वाणी गुरु भास्कर भुवन गुरुले पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा २०६३, २०६७, २०७५ सालमा लगाइएको श्रीमत भागवत महायज्ञसम्बन्धी विवरणहरु छन् । महायज्ञबाट संकलित रकमबाट पहिलोपटक वृद्धाश्रम भवन निर्माण गरिएको थियो । दोस्रोपटक २०६७ सालमा विष्णुडोलमा खानेपानी विकास गरिएको थियो । तेस्रो पटक २०७५ मा खानेपानी क्षमता अभिवृद्धि गरिएको थियो ।
१३३ पृष्ठको पुस्तकमा महायज्ञमा उपस्थित वरिष्ठ व्यक्तित्वहरुको शुभकामना, लेख रचना, संस्मरण, आर्थिक विवरण, स्मरणीय तस्बिरलगायत सामाग्री छन् । पुस्तकको सम्पादन इन्द्रबहादुर खत्रीले गरेका हुन् ।
कार्यक्रममा २०६३ को महायज्ञ आयोजक कमिटीका अध्यक्ष दुर्गाप्रसाद पोखरेल, २०६७ का अध्यक्ष लक्ष्मण कार्की, २०७५ का अध्यक्ष कुबेर केसी, खानेपानी तथा सरसफाई व्यवस्थापन समितिका अध्यक्ष सहकुल खत्रीले अनुभव र भएका कामहरुबाट बोलेका थिए । महायज्ञ आयोजक कमिटीका सचिव विवेककुमार कार्कीले कार्यक्रमको संचालन गरेका थिए ।
कार्यक्रममा वाणीगुरु भास्कर भुवन गुरुले विष्णुडोलमा महायज्ञ सफल हुने गरेको भन्दै गाउँवासीलाई धन्यवाद दिएका थिए । उनले भविष्यमा पनि यस्तै महायज्ञबाट महत्वपूर्ण कार्य हुने आशा व्यक्त गरे ।
२०७५ को महायज्ञको उद्घाटन प्रथम राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए । उक्त कार्यक्रममा सांसद कृष्णलाल महर्जन र नवराज सिलवाल, प्रदेश सांसद माधव पौडेल, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, पूर्व अर्थराज्यमन्त्री उदय शमशेर राणा, सभासद रामकृष्ण चित्रकार, पूर्व सांसद चन्द्र महर्जन, नेपाली सेनाका पूर्व रथी नेपालभुषण चन्दलगायत विशिष्ट अतिथी सहभागी थिए । महायज्ञमा एक हजारभन्दा बढीले दान गरेका थिए ।