काठमाडौं, वैशाख ६ । सत्तारुढ दलको पाँच दलिय गठबन्धनको बैठक सारिएको छ । आज ११ बजे बस्ने भनिएको बैठक दिउँसो २ बजेलाई सारिएको हो ।
पाँच दलले छवटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा चुनावी तालमेलमा आज औपचारिक सहमति गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गठबन्धनको बैठकले चुनावी तालमेलको खाका र कार्यविधि सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
सत्तारूढ दलहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू चुनावी तालमेल र साझा उम्मेदवार तय गर्ने विषयमा सोमबार दिनभरि नै छलफलमा जुटेका थिए ।
सोमबारको बैठकमा महानगरसहित ललितपुर, पोखरा, वीरगञ्ज, विराटनगर र भरतपुर महानगरपालिकामा चुनावी तालमेलको विषयमा गम्भीर छलफल भएको थियो ।