जुम्ला, ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीको जनलहर पछिल्लो समय केही बढेको देखिन्छ । विशेषत राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा बोकेर नेतृत्वमा रहेको टोली बिदाई भएपछि पछिल्लो परिस्थिति सृजना हुन सकेको पार्टीका नेताहरुले बताइरहेका छन्।
पछिल्लो समय नाम चलेका देशभरका अभियान्ताहरु समेत राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेपछि दैनिक आमसभामा युवाहरु पार्टीमा समावेश हुने दर ह्वात्तै बढेको छ। ती सबैमध्ये चर्चित अभियान्ता हुन्, ज्ञानेन्द्र शाही। हरेक दिनजसो नयाँ-नयाँ कार्यक्रममा मास उमाल्ने सम्बोधन गरिरहेका उनको गृह जिल्ला जुम्ला हो।
पछिल्लो दुई दिन उनले आफ्नो गृह जिल्लामा दुईवटा ठूला आमसभा सम्पन्न गरे। सिंजा र जुम्लामा उनको भाषण सुन्न सिंगो जुम्ला ओर्लिएको आमसभामा सहभागीहरुको प्रतिक्रियाबाट बुझ्न सकिन्थ्यो।
भव्य मञ्चको साजसज्जा। जताततै हलैहलो चुनाव चिन्ह अंकित झण्डा। मञ्चको अघिल्लो भागमा असली हलो नै राखेर प्रचार गरिएको मञ्च अगाडि उभिएका हजारौं जुम्लीहरुको आकर्षणको केन्द्र थिए, ज्ञानेन्द्र शाही।
उनैलाई कुरेका जनताले त्यस अगाडिका दर्जन नेताहरुको भाषण सुन्दा पनि पट्यार मानेनन्। धैर्यताको बाँध टुटाएनन्। व्यग्र प्रतीक्षा गरिरहे। उनी अगाडि बोल्ने हरेकले उनलाई इङ्गित गरेर बोले। उनैको प्रशंसामा अधिकांश समय व्यतीत गरे। यस्तो बेला मञ्चमा बसेका शाहीको मुहार चम्किलो हुन्थ्यो। कतिबेला उनी आफैँ ताली बजाउँथे। उनको तालीसँग उपस्थित सबैले ताली बजाउँदा बजार गुञ्जिन्थ्यो।
राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको इतिहासमै पहिलो पटक भएको यति ठूलो आमसभामा उद्घोषकले जब ज्ञानेन्द्र शाहीको नाम लिए, तब मासबाट तालीको पर्रा छुट्यो । कतिले उनको नामको हुटिङ गरे। कतिले नारा लगाए, ‘ज्ञानेन्द्र शाही जिन्दावाद ’
हात हल्लाउँदै आशनबाट उठेका उनी रोष्टममा पुगुन्जेल मासले ताली र हुटिङले स्वागत गरिरह्यो। मास तताउन सिपालु उनले मासलाई नै सोधे, ‘मेरो भाषण सुन्न तायार हुनुहुन्छरु’ मासबाट सुन्न चाहेको कुरा अनुमोदन भयो।
उनले अन्य मञ्चबाट बोलेजस्तो अन्य पार्टीका नेतालाई गाली गरेनन्। अधिकांश समय जुम्लाका विभिन्न पार्टीका नेताहरुको प्रशंसामै बिताए। उनीहरुलाई अभिभावक भने। आफ्ना लागि मातापिता, दाजुभाई दिदीबहिनी सबै जुम्ली जनता नै भएको उद्घोष गरे।
सकेसम्म जुम्लीलाई नचिड्याउने गरी बोल्ने कोसिस गरे। बोल्दाबोल्दै स्थानीय तहका नेता तथा प्रशासकीय अधिकृतको सातो लिए। उनीहरुले बिल मिलाएर खाने नियतको भण्डाफोर गरे।
‘जुम्लाका कुनै पालिका छैनन्, जसले मोजमस्ती नगरेका हुन्। हिउँद लाग्यो कि सुन्धाराका होटल रिजर्भ गर्न जाने जनप्रतिनिधिले शिक्षा र स्वास्थ्यको विकास लागि कुनै पहल गरेनन्’, उनले भने, ‘हरेक पालिकाको १० देखि २० करोड बेरुजु छ। जुन ९० प्रतिशत भ्रष्टाचार हो।’
उनले एउटा पालिका र वडाको अध्यक्षले पाँच वर्षमा नेपालगन्ज, काठमाडौंमा घर बन्ने, चालीस हजार तलब खाने प्रशासकीय अधिकृतको करोडको घर बन्ने भएको हुनाले उनीहरुलाई सम्पत्ति शुद्धीकरण अन्तर्गत मुद्दा लाउनु जरुरी रहेको बताए।
‘आफ्नै दाजुभाई हुन्। एकपल्ट सम्झाउँदा मान्लान् जस्तो लागेको थियो। तर मानेनन्। अब त अति भयो,’ उनले भने, ‘यिनको जागिर नखाई नहुने भयो।’
यसपालि चुनावमा पैसा बाँड्न आउने हरेकको पैसा, मासुभात, दनादन खान जनतालाई आग्रह गरे। ‘तर गोप्य मतदान गर्ने ठाउँमा हलोमा छपछप मतदान गर्नुहोला। त्यही नै भ्रष्टाचारीलाई कारबाही हो। योभन्दा ठूलो सजाय अर्को हुँदैन।’
सिंगो देशलाई भाषा र सभ्यता दिएको जुम्ला र जुम्लीलाई गरिने हेलाहोचोको सिमा नभएको भन्दै अब सिंगो देशको नेतृत्व लिन आफैँ तयार रहेको बताए।
‘सभ्यता दिने जुम्ला आज उत्पादन दिन सक्षम छ। स्याउ, ओखर, ढुटेलोको तेल, बहुमुल्य जडीबुटीबाट औषधि बनाएर जुम्ली धनी हुन्छन्। हामी को हौं भनेर देखाउन सक्छौं,’ उनले भने, ‘मलाई तपाईंहरुले जिताएर पठाएकै दिनबाट जडीबुटीको व्यापार गर्न मिल्ने कानुन बनाउँछु। यिनै हुन् कर्णाली सम्पन्नताका आधारहरु।’
उनले हरेकपल्ट वाक्यको बिट मार्दा बज्ने ताली र हुटिङको आवाजले मासलाई जुरुक्क उचाल्थ्यो। साइडबाट आवाज आउँथ्यो, ‘जुम्लीको छोरो ज्ञानेन्द्र शाही जिन्दावाद’
उनले पनि मासको भावनालाई बुझे र त्यसैलाई क्यास गरे। ‘म जुम्लीको छोरो हुँ। मेरो लडाइँ जुम्लाका आदर्णीय कांग्रेस, एमाले र माओवादी तथा एसका नेताहरुसँग होइन। उहाँहरुलगायत तपाईंहरु सबै मेरा अभिभावक हुनुहुन्छ,’ उनले थपे, ‘तपाईंहरुको बलले नै मैले अब शेरबहादुर देउवा, केपी ओली, माधव नेपाल र प्रचण्डहरुसँग प्रतिष्पर्धा गरेर हराउन सक्छु।’
उनले दलीय व्यवस्थाको कुरुप चित्रतिर इङ्गित गर्दै भने, ‘विस्तारवाद र साम्राज्यवाद मुर्दावाद भन्नेहरुले नै एमसीसी जस्तो राष्ट्रघाती सम्झौता पारित गरेर अमेरिकाको गुलामी गरे। कांग्रेस र कम्युनिष्टहरुका चरित्रमा कुनै अन्तर देखिएन। त्यसैले अब सिद्धान्त होइन, असल प्रतिनिधि चयन गर्न चुक्नु हुन्न। करोड रुपियाँको मोजमस्ती गर्नेलाई कारबाही नगरी हुँदैन।’
उनले मञ्चबाट बारम्बार भनिरहे, ‘म कसैलाई गाली गर्दिनँ।’ तर उनले अरु ठाउँमा जस्तै गाली र व्यंग्य छुटाएनन्। ठाडै ‘सरकारी सम्पत्ति कसैका बाबुको विर्ता हो र ?’ भनी प्रश्न उठाए। जुम्लाबाट निर्वाचित सांसदहरुको कमजोर क्षमताका भएको हुनाले क्षमताले भ्याएको काम मात्रै गर्न सकेकोमा धन्यवाद दिए।
‘हिङ्ग, सिलाजित बेचेर खाने, इन्डियाका नोकर बन्ने, काठमाडौंको दाँजोमा कहिल्यै जान नसक्ने, ठाडो बोल्ने ठाउँको मान्छे म तपाईंहरुको साथ चाहन्छु,’ उनले भने, ‘म काठमाडौंलाई प्रतिस्पर्धामा हराउन सक्ने हैसियत राख्छु। पार्टी नहेरी मेरो मुख हेर्नुस्। मलाई विश्वास गर्नुस्, अर्कोपल्ट मैले भोट माग्न नआइकनै तपाईंले मलाई जिताउने वातावरण बनाउनेछु।’
उनले आफ्ना बा लालु शाहीले ललितजंङ शाहीलाई जिताउन चुनाव प्रचार गरेकोले आफू पैँचौ तिर्न आग्रह गरेर उनकै घरबाट भोट माग्न सुरु गर्ने बताए। ’ललितजंङ शाही, कार्मा, महत, नेश भण्डारीलाई हामीले जितायौं,’ उनले भने, ‘अब उहाँहरुले मलाई जिताउनु हुनेछ। अब मेरो पालो हो।’
उनले भावुक जुम्लीको भावनालाई समेत क्यास गर्न भ्याए। विभिन्न ठाउँमा आक्रमणमा परेको बेला पनि बाँच्न सफल हुनुमा जुम्लीको माया हो भने। ‘मलाई चन्दननाथ, भैरवनाथ बाबा, मष्टो देउता र तपाईंहरुको मायाले बचायो।’ ताली बजिरहयो।