Logo

कहाँ कहाँ भत्कियो गठबन्धन ?



काठमाडौं, ११ वैशाख । देशभर चुनावी तालमेलमा अगाडि सरेका सत्ता गठबन्धनमा टकराव मात्र बढेन कतिपय स्थानमा भत्किएको छ । महानगर र उपमहानगरपालिकाहरुमा सकसका साथ चुनावी तालमेलको भागवण्डा गर्न सकेका पाँच दलीय गठबन्धनले तल्लो एकाईमा समस्या भोगेका छन् । त्यसको असर केन्द्रको गठबन्धनसम्म परेको छ ।

ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएकोमा नेकपा एकीकृत समाजवादी पार्टीले पनि मेयर र उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाहरुमा काँग्रेस र माओवादीले मात्र गठबन्धन गरेका छन् । त्यहाँ गठबन्धन भत्किएको छ ।

पोखरामा महानगरपालिकामा मात्र गठबन्धन हुने भएको छ । अन्य पालिकाहरुमा काँग्रेसले गठबन्धन नगर्ने भएको छ ।

विभिन्न जिल्लामा पनि गठबन्धन हुन सकेन । यसले गठबन्धनबीच उल्टै तनाव देखिन थालेको छ ।

काँग्रेस र माओवादीबीच गठबन्धन बनेको ललितपुरमा कतिपय स्थानमा समस्या देखिन थालेका छन् । महालक्ष्मी नगरपालिकामा माओवादीले मेयरको उम्मेदवार बनाउने गरी सहमति गरेपछि काँग्रेसभित्रका स्थानीय कार्यकर्ता राप्रपामा जान थालेका छन् ।

जनकपुरलगायत तराईका कतिपय पालिकाहरुमा काँग्रेसले मेयर नपाएपछि विद्रोह हुन थालेको छ । त्यहाँ काँग्रेसका कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी समेत दिन थालेका छन् । भरतपुरमा पनि काँग्रेसका स्थानीय नेताले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्