फुङ्लिङ, १२ वैशाख । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोर बजेट अभावले अझैसम्म पूरा हुन सकेको छैन् । प्राथामितामा नपर्दा उक्त करिडोरले सोचिएजस्तो गतिलिन नसकेको हो । काबेली कोरिडोर पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि सुरु भएर ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजङ्घा गाउँपालिका हुँदै कञ्चनजङ्घा आधार शिविरसम्म जोड्ने सडक योजना हो । कञ्चनजङ्घा हिलालदेखि बग्ने काबेली खोलाको तीरैतीर भएर कञ्चनजङ्घा हिमालको बेस क्याम्पसम्म पुग्ने पर्यटकलाई लक्ष गरेर उक्त कोरिडोरको अवधारणा ल्याइएको थियो ।
अहिलेसम्म पाँचथर खण्डअन्तर्गत लिम्बुनी पुलदेखि काबेलीबजार नजिकसम्म करिब पाँच किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । त्यस्तै ताप्लेजुङतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे र वडा ६ थुम्बेदिन पुछारसम्म करिब तीन किलोमिटर ट्र्याक निर्माण गरिएको छ । प्रथामितामा नपरेसँगै बजेट अभावका कारण पाँचथरतर्फ काबेली बजारदेखि भालुचोक पुछारसम्मको खण्ड अमरपुर र चाक्सिबोटे जोड्ने काबेली खोलामा निर्माण हुने पुलसम्म अझै ट्र्याक निर्माण हुनसकेको छैन । बजेट अभावसँगै उक्त खण्डमा पर्ने थोरै वन क्षेत्रका कारण अवरोध गरिएकाले पनि ट्र्याक निर्माणमा ढिलाइ भएको छ ।
ताप्लेजुङतर्फ सिरिजङ्घा गाउँपालिका–१ सिनाम डाँडागाउँदेखि तावा दोभान, खेबाङ शिवदिन–याम्फुदिन हुँदै आधार शिविरसम्म करिडोरको ट्र्याक निर्माण गर्न पूरै बाँकी छ । कञ्चनजङ्घा हिमाल शिर भएर बग्ने काबेली खोलाको तीरैतीर निर्माण हुने करिडोर बजेट अभाबकै कारण अघि बढ्न नसकेको हो ।
एक प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजङ्घा जोड्ने र धेरै क्षेत्रलाई सडक पहुँचमार्फत समेट्ने छोटो दूरीको काबेली करिडोर सडक योजना भए पनि बजेट विनियोजन नहुँदा ओझेलमा परेकोे उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजनाका प्रमुख अमिन्द्र खड्काले बताए । पर्यटकीय मार्गसँगै धेरै क्षेत्रका उपभोक्ता लाभान्वित हुने भए पनि करिडोरका लागि अत्यन्तै न्यून बजेट विनियोजन भएको उनको भनाइ थियो ।
चालु आर्थिक वर्षमा विनियोजित थोरै बजेट कार्यान्वयनको प्रक्रियामा रहेको उक्त आयोजनाले जनाएको छ । उक्त करिडोर निर्माणका लागि आम्बेगुदिन–तेल्लोक खण्डमा ट्र्याक निर्माण गर्नेगरी सेवालुङ–पोमु जेभी कम्पनीसँग रु एक करोड १२ लाखमा सम्झौता भएको थियो । उक्त बजेटले करिव पाँच किलोमिटरसम्म ट्र्याक निर्माण गर्न सकिन्छ ।