Logo

६ वर्ष हुँदा लुकाइएका पञ्चेन लामाको स्थिति दुई दशकयता अज्ञात



एजेन्सी, १३ वैशाख । तिब्बतमा दलाई लामा पछि पञ्चेन लामा सबैभन्दा उच्च धार्मिक व्यक्तित्व मानिन्छन् । बौद्ध धर्मालम्बी रहेको तिब्बतमा यसकारण उनको निकै महत्व छ ।

तर, ११औं पञ्चेन लामाको स्थिति २ दशकयता अज्ञात छ । उनलाई चीन सरकारले गोप्य स्थानमा राखेको बताइन्छ । तिब्बतीहरुले उनको अपहरणपछि बन्दक बनाइएको आरोप लगाउने गर्छन् । तर, चीनले पञ्चेन लामाको सुरक्षाको कारण जनाउँदै अज्ञात स्थानमा राखिएको भन्ने गरेको छ । उनलाई पृथकतावादीले अपहरण्चा गर्ने खतरा रहेको भन्ने गरेको छ ।

लारी भन्ने गाउँमा २५ अप्रिल सन् १९८९ मा जन्मिएका गेदुन चोइकी निमा ११औं पञ्चेन लामा हुन् । यसकारण हिजो उनको जन्मदिन हो । दशौं पञ्चेन लामाको निधनपछि १४ मे १९९५ मा दलाई लामाले ११औं पञ्चेन लामालाई छानेका थिए । तर, उनी छानिएको तीन दिनपछि चिनियाँ अधिकारीहरुले ६ वर्षीय बालक पञ्चेन लामालाई लगेका थिए । उनीहरुले ग्यानकेन नोर्बुलाई आफ्नो तर्फबाट पञ्चेन लामा बनाएका थिए ।

संयुक्त राष्ट्रसंघको रापोटरले २००७ मा पञ्चेन लामाको स्थितिबारे जानकारी दिन भनेका थिए । तर, चिनियाँ अधिकारीहरुले उनी सामान्य तिब्बती केटा भएको र विद्यालयमा गएर सामान्य जीवन बिताइरहेको भन्दै कतैबाट खलबलिन नचाहेको जवाफ दिएका थिए। उनका मातापिता र परिवार पनि राम्रो काममा रहेको समेत उल्लेख गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्