Logo

२०७४ मा एमालेले ४१ प्रतिशत जितेको हो, यसपालि २० प्रतिशत बढ्छः आनन्दप्रसाद पोखरेल



काठमाडौं, १४ वैशाख । नेकपा एमालेका स्थायी समिति सदस्य आनन्दप्रसाद पोखरेलले देशभरि स्थानीय तहमा आफ्नो पार्टीको पक्षमा चुनावी माहोल बनेको दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले भने, “गठबन्धनका नाममा एमालेलाई हराउने अभियान अभियान चले पनि चुनावी माहोल हाम्रो पक्षमा आएको छ । जनता एमालेलाई जिताउन आतुर छन् । जति प्रयत्न गरे पनि गठबन्धनले एमालेलाई हराउन सक्ने सम्भावना छैन । गठबन्धन दलकै विरुद्ध विद्रोही उम्मेदवारको बिगबिगी छ । गत स्थानीय निर्वाचनमा हामीले ४१ प्रतिशत जितेका हौं, यसपालि २० प्रतिशत बढ्छ ।”
उनले माधव नेपालको नेकपा (एकीकृत समाजवादी) ले आफ्नो चुनाव चिह्न पनि प्रचार गर्न नसकेको आरोप लगाए । पोखरेलले भने, “माधव नेपालको पार्टीले उम्मेदवारी दिए पनि आफ्नो चिह्नमा मत माग्न सकेको छैन । उसले आफ्नो प्रचार गर्न सक्ने अवस्था पनि छैन । थुप्रै साथीहरु धमाधम एमालेमै फर्कनुभएको छ । बिस्तारै मतदातामा ध्रुवीकरण भएको छ । हामीलाई पार्टी प्रवेश गराउन भ्याई नभ्याई छ । गठबन्धनको नाममा रहेको नेकपा एस पानीको फोका हो । वैशाख ३० पछि त्यसको अवशेष पनि रहँदैन ।”
नेपाली कांग्रेसको घोषणापत्र एमालेविरोधी झुटको पुलिन्दा मात्र भएको पोखरेलको आरोप छ । उनले भने, “नेपाली कांग्रेसले आफ्नो चरम असफलतालाई केपी ओलीविरुद्ध विष वमन गरेको छ । घोषणापत्रको नाममा झुटको पुलिन्दा तयार गरेको छ । त्यो तथ्यांकभन्दा बाहिर गएको छ । आफ्नो राजनीतिक एजेन्डा नभएपछि केपी शर्मा ओलीविरुद्ध आग्रह, पूर्वाग्रह, कुण्ठा साँधिएको छ ।”
स्थानीय तहले ५ वर्षे अवधिमा धेरै काम गरेको पनि उनले दाबी गरे । एमाले नेता पोखरेलले भने, “पहिलो कुरा त जनप्रतिनिधिसँग संघीयताको अनुभव थिएन । बजेटको व्यवस्था थिएन । कानुन, कार्यालय र कर्मचारी थिएनन् । एक, डेढ वर्ष आलोचना पनि भयो । त्यसपछि लयमा आएको थियो । थुप्रै काम भएका छन् । कामै भएनन् भन्नु कुप्रचार हो ।”



प्रतिक्रिया दिनुहोस्