Logo

गठबन्धनले एकीकृत समाजवादीलाई घाटा भयोः जगन्नाथ खतिवडा



काठमाडौं, १७ वैशाख । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले गठबन्धनका कारण आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने, “स्थानीय तहमा ३६ हजार पदका लागि गठबन्धन व्यवहारमा जटिल रहेछ । सामान्य व्यवस्थापनले हुने रहेनछ । गठबन्धनमा भागबन्डा गर्दा हामीलाई धेरै ठूलो घाटा भएको छ । पहिलो पटक निर्वाचित हुने प्रक्रियामा लागेका हुनाले तिमीहरुको जनमतै छैन भने हेपेर बोल्ने गरियो । कांग्रेस र माओवादी छाडेर हामीलाई रोजेका क्षमतावान्, असल र इमानदार नेताहरुले टिकट पाउन सक्नुभएन । सबै ठाउँमा उम्मेदवारी दिन सकिएन ।”
नेपाली कांग्रेसभित्र देखिएको अहम् र अन्तरद्वन्द्व गठबन्धनका लागि घातक भएको पनि खतिवडाले बताए । उनले भने, “नेपाली कांग्रेसमा धेरै समस्या देखियो । हामी ठूलो भन्ने असाध्य अहम् देखियो । उसका गतिविधिमा अन्तरविरोध देखिएको छ । मूल नेतृत्व मिलाउनुपर्छ लागेको पनि सौदाबाजीजस्तो ठानियो । माओवादी केन्द्रको दिमागमा पनि असाध्यै कुण्ठा देखियो । जसरी पनि एकीकृत समाजवादीभन्दा ठूलो हुन्छु भन्ने, पछि के हुन्छ हुन्छ, यसैपालि अवसर लिनुपर्छ भन्ने प्रवृत्तिले हामी अप्ठ्यारोमा परेका छौं ।”
गठबन्धन दलहरुका बीचमा स्थानीय तह निर्वाचन समीक्षाको विषय हुने पनि उनले औंल्याए । उनले भने, “५ दलीय गठबन्धनको निर्णय निकै ढिला भयो । तलको मनोविज्ञान नबुझ्दा समस्या देखियो । प्रदेश र संघीय निर्वाचनमा जाँदाका यी कुरा समीक्षाका विषय बन्छन् । कलमले रुख र हँसिया हथौडालाई भोट हाल्छ कि हाल्दैन ? रुख र हँसिया हथौडाले कलमलाई भोट हाल्छन् कि हाल्दैनन् ? यसका आधारमा अर्को गठबन्धनको स्वरुप निर्धारण हुन्छ ।”
बागी उम्मेदवार व्यवस्थापनमा नेपाली कांग्रेस गम्भीर हुनुपर्ने उनले औंल्याए । उनले भने, “भरतपुर, पोखरा लगायत स्थानमा उसले गम्भीरता देखाएन भने अरु ठाउँमा उसले समस्या भोग्नुपर्ने हुन्छ । नेपाली कांग्रेसका सभापतिले नियन्त्रण गर्न नसक्ने स्थिति आउन सक्छ । उहाँले भनेको मान्दै नमान्ने नेता कार्यकर्ताका कारण समस्या हुन सक्छ ।”



प्रतिक्रिया दिनुहोस्