काठमाडौं, १७ वैशाख । नेकपा एमालेका नेता खगराज अधिकारीले गगन थापामा ठूलो मान्छेलाई गाली गरेपछि चर्चित हुन्छु भन्ने मनोरोग रहेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “गगन थापामा ठूलै मान्छेको कुरा गरेपछि चर्चित हुन्छु भन्ने मनोरोग छ । उहाँले केपी ओलीलाई ट्युसन पढाउँछु भन्नुभएछ । केपी ओलीले गगनको नाम पनि लिनुभएको छैन । उहाँसँग खुबी छ भने आफ्नै पार्टीका मान्छेलाई ट्युसन पढाए हुन्छ । यो उहाँको बोलीमा सभ्यताको कमी रहेको कुरा हो । उहाँ मैले ल्याएको स्वास्थ्य सेवाका कार्यक्रम त आफ्नो कार्यक्रम भन्ने मान्छे हो ।”
अधिकारीले आफ्नो पार्टीको घोषणापत्र कांग्रेसले चोरेको आरोप पनि लगाए । उनले भने, “कसको घोषणापत्र कसले फोटोकपी कसले गरेको हो, भन्ने जनतालाई थाहा छ । अरुले गफ गरे, हामीले काम गरेर देखायौं । हामीले जनतालाई खोप लगायौं, उहाँहरुले २४ लाख खोप चोर्नुभयो कि बेच्नुभयो ? उहाँहरुले साढे ३ वर्ष खेर गएको आरोप लगाउनुभएको छ, वास्तवमा नौ महिनाचाहिँ खेरै गएको हो ।”