Logo

“केपी ओली नआत्तिएको भए एमालेले कतै नदेखिएको पार्टी परिवार दल र राप्रपा नेपालसँग किन तालमेल गरेको त ?”



काठमाडौं, १९ वैशाख । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ५ दलीय गठबन्धनबाट नेकपा एमाले परास्त हुने दाबी गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “संघीय लोकतान्त्रिक संविधान र लोकतन्त्रको रक्षाका निम्ति देशभरि तालमेल भइरहेको छ । ५ दलीय गठबन्धनले शतप्रतिशत रिजल्ट दिन नसके पनि धेरैजसो ठाउँमा एमाले परास्त हुन सक्ने स्थिति छ । त्यसैले केपी ओली पनि तर्सिनुभएको छ । उहाँ नतर्सिनु भएको भए मतपत्र हरियो भयो भनेर किन विरोध गर्नुभयो ? कतै नदेखिएको पार्टी परिवार दल, राजावादीसँग किन तालमेलको सम्झौता गर्नुभयो ?”
तपाईंले आफ्नै जिल्ला सिन्धुपाल्चोकमै तालमेल गर्न सक्नुभएन नि भन्ने पत्रकार धमलाको प्रश्नमा बस्नेतले थपे, “हो, सबै ठाउँमा तालमेल लागू भएको छैन । नेपाली कांग्रेसले त्यसरी निर्णय गरेको पनि छैन । हाम्रो जिल्लामा सबै ठाउँमा तालमेल हुन नसकेको होइन, स्थानीय तहले चाहेको ठाउँ जुगल र पाँचपोखरी गाउँपालिकामा माओवादीसँग तालमेल भएको छ ।”
कांग्रेस नेता बस्नेतले अपवाद ठाउँमा बागी उठेको र त्यो कांग्रेसका निम्ति आश्चर्यको कुरा नभएको पनि बताए । उनले थपे, “नेपाली कांग्रेस निकै ठूलो पार्टी हो । टिकट वितरणमा चित्त नबुझेपछि कतिपय ठाउँमा बागी उम्मेदवार छन् । तर ती अपवाद हुन् । बागी उम्मेदवार त पहिले पनि हुन्थे । यसलाई हामीले असामान्य मानेका छैनौं । यो आश्चर्यको कुरा पनि होइन । जहाँ जहाँ तालमेल भएको छ, त्यहाँ इमानदारीपूर्वक काम भएको छ । यो सकारात्मक पक्ष हो । तालमेलको उद्देश्य पवित्र छ । बागीका कारण केही समस्या आउला, त्यो अलग पक्ष हो । सयौं ठाउँमा निर्विरोध परिणाम आएको छ । यसले पूर्व संकेत गरेको छ । एमाले भनेको बोराको कुहिएको आलु हो, थोरै संख्यामा एमालेले जित्यो भन्यो भने पनि बिगार्न सक्छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन स्वाभाविक भएको पनि उनले बताए । बस्नेतले भने, “प्रहरी संगठनमा विकृति ल्याउने एमाले नै हो । एमालेको सरकार हुँदा अच्युतकृष्ण खरेललाई फालेर ध्रुवबहादुर प्रधानलाई ल्याइएदेखि नै नेपाल प्रहरीमा विकृति आएको हो । यस पटक के भएको हो ? म जिल्लातिर छु । यसबारे गृहमन्त्रीलाई नै सोध्नुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्