Logo

एआईजीबाटै आईजीपी बनाउने हो, चुनाव जित्न बढुवा गरेको होइनः पूर्व गृहमन्त्री



काठमाडौं, २० वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल प्रहरीको प्रमुख बढुवालाई विवादित बनाउन नहुने बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने, “एआईजीबाटै आईजीपी बनाउने हो । समय क्रममा कोही सिनियर हुन्छ, कोही जुनियर हुन्छ । तीनै जना एआईजीको भर्ती मिति सँगसँगै देखिन्छ । सरकारले आफ्नो समग्र सुरक्षा नीति कार्यान्वयन गर्न उपयुक्त व्यक्ति सोच्नुलाई अन्यथा ठान्नु हुन्न । म सैद्धान्तिक कुरा गर्छु, ठीक वा बेठीक भन्दिनँ ।”
बस्नेतले स्थानीय निर्वाचन जित्नका लागि प्रहरी अधिकारीको बढुवा नहुने पनि स्पष्ट पारे । उनले भने, “हो, प्रहरी संगठनमा कतिपय सरकारले स्वेच्छाचारिता देखाएका छन् । कहिले दरबन्दी थपेर प्रमोसन गर्ने, कहिले दरबन्दी घटाउने काम भए । कहिले सेवा अवधि थप्ने, कहिले सीमित गरिदिने प्रवृत्ति देखा परे । विकास, सुशासन, सामाजिक न्याय आदि कुरामा सुरक्षाको प्रभाव पर्छ । त्यसैले प्रहरी संगठनलाई पारदर्शी र प्रोफेसनल बनाउनुपर्छ भन्ने मेरो धारणा छ । अहिलेको बढुवा चुनाव जित्न गरेको होइन ।”
उनले ५ दलीय गठबन्धन सफल हुने विश्वास पनि व्यक्त गरे । उनले थपे, “गठबन्धन शतप्रतिशत नभए पनि मूल रुपमा लागू भएको छ । कतिपय ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । मेरो विचारमा गठबन्धन सफल हुन्छ ।” वडावडा टोलटोलमा घरदैलो गर्नुपर्ने बेला संयुक्त आमसभा गर्नु समयको नोक्सानी हुने उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्