काठमाडौं, २१ वैशाख । नेपालगन्ज महानगरपालिकाका मेयर धवलशमशेर राणाले आफ्नो ५ वर्षे कार्यकाललाई ‘गोल्डेन पिरियड’ भनेपछि विपक्षी दलका उम्मेदवारहरुले त्यसको विरोध गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’को स्थानीय तहको निर्वाचनका उम्मेदवारहरुबीचको बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै राणाले भने, “मेरो ५ वर्षे कार्यकाल अत्यन्त सफल भयो । त्यसलाई गोल्डेन पिरियड भने पनि भयो । यसलाई सुनौलो अक्षरले लेखे हुन्छ । यहाँ मैले सोचेका सबै काम पूरा भए, केही हुन बाँकी छैन ।”
विपक्षी उम्मेदवारहरुले त थुप्रै काम हुन बाँकी रहेको टिप्पणी गरेपछि राणाले थपे, “सडक पिच भयो, सबै वडामा स्वास्थ्य केन्द्र बने । हरेक ठाउँ जाँदा विदेशका ठाउँ गएजस्तो लाग्छ । फेसबुके मित्रहरु पानी पर्दाखेरि नेपालगन्ज डुब्यो डुब्यो भन्छन् । प्रलय भए बेग्लै कुरा हो, नत्र अब नेपालगन्ज डुब्दैन । यहाँ एसियाली विकास बैंक (एडीबी)का ६ वटा योजना सफल भए । ल्यान्डफिल्ड साइट योजना समाधान भयो । ४० वर्षलाई कुनै समस्या छैन । नयाँ बसपार्क, एयरपोर्ट बन्यो । तर धवलशमशेरको पालामा राम्रो काम भयो भन्दा उहाँहरुलाई भोट नआउला । तर जो मेयर भए पनि मेरो एउटा आँखा र एउटा खुट्टा नेपालगन्जमै रहनेछ । सबैलाई मेरो सहयोग रहनेछ ।”
५ दलीय गठबन्धनको मेयर पदको साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रशान्त विष्टले त्यसमा असहमति प्रकट गरे । उनले भने, “डाक्टर धवलशमशेर राणा सरल र असल व्यक्तित्व हुनुहुन्छ । ट्राफिक व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा जनताले धेरै आशा गरेका थिए । सोचे अनुसार विकास हुन सकेन । राजनीतिक अखडाजस्तो घम्साघम्सी मात्र भयो । मनपरी हिसाबले सिफारिस दिने काम भए । मैले गठबन्धनबाट जिते पनि भोलि सबैको मेयर हुने हो । सबैलाई हेर्ने हो । तर राणाको पालामा त्यस्तो भएन ।”
नेकपा एमालेका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्रले मेयर राणाको संघीय सरकारमा पहुँच नभएकाले यथेस्ट विकास हुन नसकेको आरोप लगाए । उनले भने, “नेपालगन्ज उपमहानगरमा पुरानो सहरमात्र होइन, ११ वटा गाविस पनि जोडिएको छ । सबै बाटो पूरा भयो भनेर एडीबी फेजआउट गरायौं । तर अहिले पनि वडा नं १३ देखि २३ सम्म अप्ठ्यारो स्थिति छ । केपी ओलीको सरकारले सहरी विकासका लागि हरेक वर्ष ५० करोड दियो । तर थप सहयोगका लागि मेयर राणाको संघीय सरकारमा कुनै पहुँच भएन । त्यसैले धेरै ठाउँमा स्वास्थ्य केन्द्र बनाउन बाँकी छ । खानेपानीको समस्या समाधान भएको छैन । पुरानो योजना सञ्चालन भयो । तर धेरै काम अधुरा छन्न । नेपालगन्ज नगरबासीका लागि हामी स्वास्थ्य सेवा निःशुल्क गराउँछौं । विपन्न गरिबको बीमा गरेर काम गर्छौं ।”
मेयर राणाकै दल राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार नन्दलाल वैश्यले अघिल्लो कार्यकालमा छुटेका काम अब आफूले सम्हाल्ने बताए । उनले भने, “जबसम्म हावाको तालमा कुरा गर्छौं, त्यसको स्रोत खोज्दैनौं । तपाईं यति मात्र बोल्नुस्, भोलि काम गर्न नसक्दा जनताले तपाईंलाई जुत्ता नहानून् । झूटो कसम नखानुस् । अहिले चुनाव आएको छ, चस्माको कलर चेन्ज हुन्छ । धवलजी भगवान् होइन, उहाँबाट छुटेका कामलाई म सम्पन्न गर्छु । म महिला रोजगारी, आयआर्जनका कार्यक्रम मात्र होइन, महानगर बनाउने कोसिस गर्छु ।”
स्वतन्त्र उम्मेदवार दिनेश थापाले थपे, “साँच्चै भन्ने हो भने नेपालगन्जले छिमेकी पालिका जति पनि काम गर्न सकेको छैन । अब उनीहरु महानगरमा किन मिसिने ? यहाँ विकासको चर्चा भयो । तर सत्य कुरा के हो भने नेपालगन्जमा ढलको व्यवस्था छैन । अहिले भएको नाली मात्र हो । ढल निकासको समस्या समाधानका लागि बृहत् बहुवर्षीय योजना बनाउनु आवश्यक छ । स्वास्थ्य क्षेत्रमा सर्वसधारणको पहुँच छैन । त्यसका लागि आवश्यक पहल गर्नुपर्छ ।”