Logo

बस्ती-बस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार



काठमाडौँ, २१ वैशाख । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती चुनावमय बनेका छन् । उम्मेदवार आफ्ना कार्यकर्तालाई साथ लिएर विकास र समृद्धिका प्रतिबद्धतासहित बस्ती छिरेका छन् ।

उम्मेदवारले मतदातालाई आश्वास्त पार्न घरदैलो पुगेर अभियान चलाइरहेका छन् । दलका उम्मेदवार आफ्ना पार्टीका घोषणापत्र र कार्यसूची तथा आफ्ना योजना बोकेर मतदाताका घरघरमा पुगेका छन् । चुनाव जितेर गाउँबस्ती नफर्कने आरोप लाग्ने गरेका उम्मेदवारले अहिले मतदातासँगको भेटघाट एवं छलफल तीव्र पारिरहेका छन् । उनीहरु आआफ्ना पक्षमा जनमत सिर्जना गर्न र्‍याली, घरदैलो, जुलुस तथा सभा गरिरहेका छन् । उम्मेदवारले यसपाली सामाजिक सञ्जालको भरपुर उपयोग गरेको पाइन्छ । गाउँबस्तीमा गीतसङ्गीतमार्फत पनि घरदैलो चलेको पाइएको छ ।

मुलुकका पाँच महानगर, ११ उपमहानगरसहित ७५३ स्थानीय तहमा एकसाथ निर्वाचन हुन लागेकाले पनि मुलुक नै निर्वाचनमय भएको छ । त्यसमध्ये महानगरको चुनाव पेचिलो बनेको छ । यसअघि विसं २०७४ मा तीन चरणमा निर्वाचन सम्पन्न भएकाले मुलुक निर्वाचनमय बन्न सकेको थिएन तर यसपाली गाउँबस्तीमा निर्वाचनले छपक्कै छोपेको छ ।

उम्मेदवार मतदाता भेट्न खेतबारीसमेत धाइरहेका छन् । काम गरिरहेको स्थानमा पुगेर भेटघाट गर्ने र विभिन्न विकासका प्रतिबद्धतासहित मतदातालाई आकर्षित गरिरहेका पाइएको छ । सत्ता गठबन्धन दलकातर्फबाट काठमाडौँ महानगरको प्रमुखमा उम्मेदवारी दिएकी कांग्रेस नेतृ सिर्जना सिंह चुनावी अभियान बोकेर मतदाताको घरघर पुगेका छन्। काठमाडौँ सहरका युवालाई खेलकुदप्रति आकर्षित गराउन पहल गर्ने उहाँको प्रतिबद्धता छ । काठमाडौँलाई अन्तर्राष्ट्रिय जगतमै उच्च पहिचान दिलाउन कोसिस गर्ने र सुशासन, सुन्दर सहर, भ्रष्टाचारमुक्त र सम्पदा संस्कृतिको विकासमा योगदान दिने मतदातामाझ चुनावी प्रतिबद्धता जनाएका छन् ।

नेकपा ९एमाले० बाट महानगरको प्रमुखमा उम्मेदवारी दिएका नेता केशव स्थापितले विसं २०५४ का मेयर जित्नुभएको थियो । स्थापित काठमाडौँको समृद्धिका योजनासहित महानगरका टोलटोलमा चुनावी अभियानमा सक्रिय भएको बताउँछन् । समय तालिका बनाएरै चुनावी अभियान थाल्नुभएका उहाँ नागरिकको सेवामा समर्पित हुने उद्घोषसहित मतदाता रिजाउने प्रयासमा हुन् ।

उता मुलुककै ध्यान केन्द्रित भएको महानगर हो चितवनको भरतपुर । विगतमा मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएकाले अहिले पनि भरतपुर चर्चाको शिखरमा नै छ । सत्ता गठबन्धन दलले चितवनमा चुनावी घोषणापत्र नै बनाएर अभियान थालेको छ । गठबन्धनका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेतृ रेणु दाहाल गएको पाँच वर्षमा विकासको एउटा जग तयार भएको सुनाउछन् । उनी अब बाँकी रहेका योजना पूरा गर्न र समृद्ध महानगर बनाउने योजनाका साथ चुनावी अभियानमा होमिएका हुन् । उनले मतदाता माझ भरतपुरलाई मुलुककै नमूना र हेर्न लायक सहर बनाउने सङ्कल्प प्रस्तुत गरे । उनले महानगरमा कृषि, स्वास्थ्य, शिक्षा र विकासमा आफ्नो ध्यान जाने पनि मतदातामाझ प्रतिबद्धता जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्