Logo

विमानस्थलमा बम राखेको ‘थ्रेट’ दिनेको खोजी तिब्र



काठमाडौं, वैशाख २२। बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ अज्ञात नम्बरबाट शंकास्पद वस्तु (बम) राखेको भन्दै थ्रेट कल आएपछि १ घण्टाभन्दा बढी समय आन्तरिक उडानतर्फका सबै हवाई उडान प्रभावित बने ।

बिहान करिब १० बजे त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर (टीडीओ) बस्ने कार्यालयमा आन्तरिक टर्मिनलतर्फ शंकास्पद वस्तु राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि केही समय विमानस्थलमा अकस्मात् त्रास उत्पन्न भएको थियो । पाकिस्तानी अज्ञात नम्बरबाट यस्तो थ्रेट कल आएपछि विमानस्थल व्यवस्थापनले आन्तरिक उडान रोकेको थियो ।

सो हल्ला चलेपछि विमानस्थलको यात्रु प्रतीक्षालय तथा टर्मिनलमा रहेका यात्रुबीच भागदौड नै चलेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी गराएअनुसार त्यतिबेला अज्ञात व्यक्तिले कल गर्दा ‘अस्सलाम वालेकुम’ दुईपटक भनेर नेपालीमै बोलेको थियो ।

सो समय आन्तरिक टर्मिनलतर्फ बम राखेको भन्दै अज्ञात व्यक्तिले पटकपटक फोन गरेपछि विमान चढ्ने तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर निकालेर ‘सर्च’ गरिएको थियो । केही समय थ्रेट कलमा भनिएजस्तो शंकास्पद वस्तु फेला नपरेपछि सवा ११ बजेदेखि विमानस्थल पुनः सञ्चालनमा ल्याइएको थियो ।

विमानस्थल कार्यालयका अनुसार सो विमानस्थलमा बिहान ९ देखि १० बजेको बीचमा दुईपटक यस्तो कल आएको थियो । सो कलमा अज्ञात पुरुष व्यक्तिको आवाज सुनिएको थियो । थ्रेट कलबाट अज्ञात व्यक्तिले विमानस्थलमा ६÷७ वटा बम राखिएको र २ घन्टामा पड्कने बताएको थियो । सो कल आएलगत्तै अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले सबै यात्रुहरूलाई बाहिर निकालेको थियो ।

सो थ्रेट कलको जानकारी पाएलगत्तै विमानस्थलमा बम डिस्पोल टोली खटाएर अनुसन्धान गरिएको थियो । विमानस्थलका सुरक्षाकर्मीलगायत बम डिस्पोजल टोलीले पुरै विमानस्थल सर्च गर्दा बम फेला नपरेकाले अहिले यस्तो थ्रेट कल’अनुसन्धान भइरहेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्