काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेसका नेता एवं संखुवासभाका पार्टी सभापति दीपक खड्काले आफ्नो जिल्लामा गठबन्धनले ‘क्लिन स्विप’ गर्ने स्थिति रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले भने, “म अहिले संखुवासभामै केन्द्रित छु । हाम्रो जिल्लामा १० पालिकामध्ये ८ वटामा गठबन्धन भएके छ । २ पालिकामा पहिलो र दोस्रो जो भए पनि गठबन्धनकै हुने भएकाले मित्रवत् प्रतिस्पर्धा छ । दुवै पहिले कांग्रेसले जितेका पालिका हुन् ।”
गठबन्धन धरापमा परेको हो भन्ने पत्रकार धमलाको प्रश्नमा कांग्रेस नेता खड्काले त्यसलाई अस्वीकार गरे । उनले भने, “तपाईंले कुन प्रसंगमा भन्नुभएका हो मलाई थाहा छैन । तर जहाँ जहाँ गठबन्धन भएको छ, सबै ठाउँमा गठबन्धनकै स्थानीय सरकार बन्छ । केन्द्रमा ५ वर्ष गठबन्धन दलले नै सरकार बनाउने भएपछि स्थानीय तहमा पनि त्यो आवश्यकता खड्कियो । गठबन्धन भनेको पार्टी एकता होइन, सैद्धान्तिक र वैचारिक विचलन होइन । संखुवासभाको १० वटै पालिकामा गठबन्धनको जित सुनिश्चित छ ।”