Logo

बुटवलमा सुकुम्बासी समस्याको स्थायी समाधान मेरो प्रमुख एजेन्डा: खेलराज पाण्डे



काठमाडौं, २३ वैशाख । बुटवल उपमहानगरपालिकामा मेयर पदका गठबन्धनका उम्मेदवार खेलराज पाण्डेले आफ्नो प्रमुख एजेन्डा सुकुम्बासी समस्याको स्थायी समाधान भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपाली कांग्रेसका नेता पाण्डेले भने, “म यहाँको हरेक समस्या र समाधानबारे स्पष्ट छु । बुटवलमा सुकुम्बासी समस्यालाई राजनीतिकरण भइरहेको छ । सुकुम्बासी र अव्यवस्थित बसोबास भएको २१ हजार जनसंख्या छ । तिनलाई अल्पकालीन बसोबासको प्रमाणपत्र दिने र दीर्घकालीन रुपमा राष्ट्रिय भूमि आयोगबाट लालपुर्जा दिलाउने हाम्रो प्रयास रहन्छ ।”
गठबन्धनको पूर्ण पालना भएकाले बुटवलमा आफ्नो जित निश्चित भएको पाण्डेले औंल्याए । उनले भने, “यहाँ १५ वर्षदेखि विष्णु पौडेलले जित्नुभयो । मेयरमा पनि एमालेले जितेको हो । हामीले काम गर्ने अवसर पाएका छैनौं । हाम्रो मिसन बुटवललाई देशकै सबैभन्दा सबल आर्थिक केन्द्र बनाउने हो । सुशासन पहिलो लक्ष्य हो । भ्रष्टाचार शून्य गराउँछौं ।”
पाण्डेले आफू बुटवलबासीको दुःखसुखमा सहभागी भएकाले यस पटक जित्ने पनि बताए । उनले भने, “म यहाँका २९९ सय टोलको दुःखसुखमा सहभागी छु । जहाँ जहाँ बुथ छ, त्यहाँ खिलराज पुग्छ भन्ने यहाा सबैलाई परेको छ । ज्योतिनगर पहिरोको दीर्घकालीन समाधान गर्ने, मोतीपुरमा स्मार्ट औद्योगिक क्षेत्र बनाउने, नयाँ कृषि मण्डी लगायतका काम गर्छु । हामीले बडो दुःखका साथ ल्याएको प्रदेश राजधानी बुटवलबाट सारियो । अघिल्लो पटक हामी थोरै मतले पराजित भएका हौं । यस पटक गठबन्धनको पूर्ण पालना भएको छ । त्यसैले पनि हामीले जित्ने आधार छ ।”



प्रतिक्रिया दिनुहोस्