Logo

राहुल गान्धीको नेपाल बसाइँ: सुम्निमाको विवाह, नाइट क्लब देखि लाकुरीको रिसोर्टसम्म



काठमाडौं, २३ वैशाख । भारतको कँग्रेस आईका नेता राहुल गान्धी दोस्रोपटक नेपाल भ्रमणमा आए । उनको यो व्यक्तिगत भ्रमण नेपालभित्र मात्र नभई भारतमा झन् चर्चाको विषय बन्यो ।

राहुल पूर्वराजदूत भीम उदासकी छोरी सुम्निमा उदासको विवाहमा सरिक हुन आएका थिए । सुम्निमा उनको नजिककी साथी हुन् । भारतमा रहँदै सुम्निमाको राहुलसँग निकटता बढेको थियो । त्यतिबेला उनी सीएनएनमा काम गर्थिन् ।

सुम्निमाको विवाहमा आएपछि राहुलले काठमाडौंको रात्रीक्लबको अनुभव लिए । एलओडी क्लबमा पुगेको दृश्य नै सार्वजनिक भयो । उनीसँग एकजना महिला पनि थिइन् । भारतीय मूलकी ती महिलासँग पोर्चुगलको पासपोर्ट थियो ।

राहुल सुम्निमाको विवाहको रिसेप्सनमा होटल देखि ललितपुरस्थित घरमा समेत पुगेका थिए । भारतको गान्धी परिवारका राहुलको नेपाल बसाईं ४ दिनको रह्यो । लोकसभा सांसद समेत रहेका र कुनैबेला कँग्रेस आई नै हाँकेका उनी यति लामो दिन नेपाल बस्नुलाई अर्थपूर्ण मानिएको छ ।

राहुल ललितपुरको महालक्ष्मी नगरपालिकाको लाकुरे भञ्ज्याङस्थित रिसोर्टमा पनि पुगे । उक्त रिसोर्ट अहिले चर्चामा छ । राहुल जहाँ जहाँ पुगे त्यसले भारतमा पनि चर्चा कमाएको छ ।

बिहिबार साँझ राहुल दिल्ली फर्किए । उनको आगमन र प्रस्थान मात्र नभई बसाईंका घटना चासोको विषय बन्यो । भारतमा यो विषयलाई सत्तारुढ भारतीय जनता पार्टीले खूबै चर्चाको विषय बनायो ।

राहुल यसअघि पनि नेपाल आएर मानसरोवर गएका थिए । उनी त्यतिबेला पनि ठमेलको रात्री जीवन हेर्न पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्