पोखरा, २३ वैशाख : सबैजसो राजनीतिक दलहरुको प्रमुख चासोमा महानगर छ । उनीहरूले जुनसुकै हालतमा महानगर गुमाउन चाहँदैनन् । अहिले चुनावी गतिविधि सबै पार्टीको तीव्र छ । पोखरा महानगर अझै अर्थपूर्ण रुपमा हेरिएको छ । यहाँ गठबन्धन भर्सेज एमाले छ ।
अघिल्लो स्थानीय चुनावमा कांग्रेसलाई १३ हजारभन्दा बढी मतले हराएको एमालेलाई अहिले तेस्राे दल नेकपा माओवादी केन्द्र र उही पार्टीबाट फुटेको एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनर्मोर्चाको मोर्चा कांग्रेसको नेतृत्वमा एकातिर छ ।
एमालेलाई राप्रपा नेपाल र नेपाल परिवार दलले सहयोग गर्ने बताएको छ । राप्रपा नेपालले मेयर र उपमेयरमा उम्मेद्वारी दिए पनि एमालेलाई सघाउने भन्दै फिर्ता लिइसकेको छ ।
आफ्ना उम्मेद्वारलाई जिताउन दुवै पक्षले पोखरामा चुनावी सभा आयोजना गर्दैछन् । १५ वैशाखमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले गठबन्धनका उम्मेद्वारको पक्षमा भोट माग्नेछन् ।
कास्की कांग्रेसको आयोजनामा कार्यक्रम हुने भएकोले उक्त सभामा अरु पार्टीका नेताहरू को-को आउने भन्ने टुंगिएको छैन । अमरसिंह चौरमा हुने कार्यक्रमका लागि कांग्रेसले गठबन्धनका सबैलाई निम्तो गरेको छ ।
सोही मैदानमा भोलिपल्ट २६ वैशाखमा नेकपा एमालेको चुनावी सभा छ । अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने गरी कार्यक्रमको आयोजना गरिएको हो । अहिलेको प्रतिश्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । दुवै टोलीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । file photo