काठमाडौं, २५ वैशाख । रोल्पाको परिवर्तन गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार विश्वकुमार चन्दले माओवादी केन्द्रको दम्भका कारण गठबन्धन हुन नसकेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै चन्दले भने, “रोल्पाली जनता माओवादीका गतिविधिबाट आक्रान्त छन् । यहाँ प्रचण्डले जितेर जानुभयो, एक पटक पनि फर्कनुभएन । यहाँ दिएका कुनै पनि आश्वासन पूरा गर्नुभएन । चितवन र दाङमा प्रचण्डलाई कांग्रेसको भोट चाहिन्छ, कांग्रेसबिना अस्तित्व देख्नुहुन्न । तर रोल्पाका माओवादीले हामीलाई वर्ग दुश्मनसँग सहयात्रा गर्नुहुन्न भने, हामीलाई पार्टीको व्यवहार गरेनन् । उनीहरुकै दम्भका कारण गठबन्धन भएन ।”
उनले जनताको सुखदुःखमा साथ दिएको नेपाली कांग्रेस विजयी हुने दाबी गरे । चन्दले भने, “गठबन्धन नभए पनि नेपाली कांग्रेसले रोल्पाली जनताको दुःखसुखमा सहकार्य गरेको छ । हामीले स्वास्थ्य, शिक्षा, खानेपानी र किसानको समस्यालाई प्राथमिकता दिएका छौं । हामीले लघुउद्यमलाई प्रोत्साहन दिने कार्यक्रम पनि ल्याउने छौं ।”