रुकुम, २५ बैशाख । रूकुम पश्चिममा चुनाव प्रचार प्रसारको क्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि सांघातिक आक्रमण गरेका छन् ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि घर दैलो कार्यक्रमको क्रममा चौरजहारी नगरपालिकाका ६ वडामा शनिबार राति माओवादी कार्यकर्ताले आक्रमण गरेका हुन् । माओवादी कार्यकर्ताको आक्रमणबाट कांग्रेसका लक्ष्मण बोहोरा गम्भिर घाइते भएका छन् ।
उनलाई नेपालगन्ज रिफर गरिएको स्थानीय पत्रकार लक्ष्मी केसीले बताइन् । उनको अवस्था गम्भिर रहेको छ ।
माओवादीले रुकुम पश्चिमका नगरपालिका, गाउँपालिका सबैमा निर्वाचन हार्ने भएपछि र आफ्नो पक्षमा मत नदेखिएपछि कांग्रेसका कार्यकर्ता लगायत सर्वसाधारणको घरघरमा पसेर हातहतियार प्रहार गर्ने र माओवादीलाई भोट नहाले मारिदिने धम्की दिने गरेको स्थानीयहरु बताउँछन् ।
चुनावमा हार निश्चित भएपछि माओवादीका कार्यकर्ताहरुले जनताहरूलाई धम्क्याउने र कुन पिट गर्ने गरेका कांग्रेस कार्यकर्ताहरुले आरोप लगाएका छन् ।
उनीहरुको कुटपिटबाट ६ जना महिलाको समेत हात भाँचिएको छ भने २ जनाको टाउकोमा धारिलो हतियार प्रहार गरीएको छ ।
उपचारका लागि नेपाल पुलिस र सशस्त्र प्रहरीले स्थानीय अस्पतालमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि घाइते सबैलाई थप उपचारको लागि नेपालगन्ज अस्पताल रिफर गरिएको केसीले जानकारी दिइन् ।