Logo

गठबन्धनमा माधव नेपाल खोटो सिक्का भैसक्नुभयो, वैशाख ३० पछि उहाँको रोनाधोना अझ चर्को हुन्छः प्रदीप ज्ञवाली



काठमाडौं, २६ वैशाख । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका नाममा आफ्नै पार्टीको भविष्य बरबाद पारेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने, “प्रचण्ड र देउवाको स्वार्थ मिलेकाले अहिले गठबन्धन भएको छ । यो घिउ बेचुवा र तरबार बेचुवाको गठबन्धन हो । यसलाई आम कार्यकर्ताले स्वीकारेका छैनन् । देउवाले आफ्नै पार्टीको भविष्य बरबाद पारिदिनुभयो । आफ्नो चुनाव चिह्नमा भोट हाल्न पाऊँ, जित हार सहन बेहार्ने तयार छौं भन्दा पनि दिनुभएन ।”
गठबन्धनको एक मात्र उद्देश्य नेकपा एमालेलाई परास्त गर्नु भएकाले यसको कुनै औचित्य नभएको ज्ञवालीले बताए । उनले भने, “गठबन्धन दलहरुभित्रै एकअर्काबीच चर्को अविश्वास छ । गठबन्धनको एक मात्र उद्देश्य नेकपा एमालेलाई परास्त गर्ने हो । नेकपा एमालेको चुनावी अभियान शानदार सफलतातिर अघि बढिरहेको छ । भोलि परिणाम प्रतिकूल भएपछि एकले अर्कालाई धारे हात लगाउँदै गठबन्धन टुट्छ ।”
प्रतिपक्षविरुद्ध सत्तापक्षले गठबन्धन गर्नु हास्यास्पद भएको पनि उनले औंल्याए । ज्ञवालीले भने, “हामीले राष्ट्रव्यापी गठबन्धन गरेका छैनौं । सत्ता र प्रतिपक्षले गरेका गठबन्धनलाई तुलना गर्न मिल्दैन । हामीले आफ्नो खुट्टामा उभिएर चुनाव लडेका छौं । कतिपय स्थानमा अन्य पार्टीका साथीहरु पनि सूर्य चुनाव चिह्न लिएर उठेका छन् । तर देशका प्रधानमन्त्री सेनाको हेलिकप्टर लिएर आचारसंहितालाई अचार बनाएर खाइरहनुभएको छ । संसारमा प्रतिपक्षविरुद्ध सत्तापक्षले गठबन्धन गरेर गएको देख्नुभएको छ ?”
माधव नेपालले पार्टी विभाजन गरेर विपक्षी नेतालाई प्रधानमन्त्री बनाएको दण्ड भोग्नुपर्ने उनले बताए । उनले थपे, “माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी बेच्न हिँड्नुभएको छ । अहिले उहाँको रोनाधोना सुनिएको छ । उहाँले पार्टीलाई घात गर्नुभयो । विपक्षी पार्टीको नेतालाई भोट हालेर प्रधानमन्त्री बनाउनुभयो । उहाँले त्यसको दण्ड त भोग्नु नै छ । त्यसैले उहाँ अहिले गठबन्धनभित्रै खोटा सिक्काका रुपमा परिणत हुनुभएको छ ।”
पार्टी फुटेको अवस्थामा एमालेले कसरी जित्न सक्छ भन्ने पत्रकार धमलाको प्रश्नमा ज्ञवालीले भने, “यो गठबन्धन टेस्टेड र फेलियर भैसकेको छ । एमाले विभाजन त एकादेशको कथा भैसक्यो । फुटेर बाहिरिएका कार्यकर्ता आइसके, धेरै थपिएका छन् । प्रचण्ड स्वयंले आफ्नी छोरीले नजित्ने हो भने देश भड्खारोमा जान्छ भन्नु पराजयको मानसिकताको उपज हो । जनताको अपार समर्थन नेकपा एमालेप्रति छ । गत स्थानीय तहमा हामीले ४२ प्रतिशत जितेका हौं । विजय यात्रा रोकिँदैन ।”
संसदको बर्खे अधिवेशनमा के हुन्छ भन्ने अर्को प्रश्नमा उनले भने, “यो कुरा सरकारलाई नै सोध्नुपर्छ । हामीले रहरले, लहडले संसद्मा नाराबाजी गरेका होइनौं । हाम्रो पार्टी विभाजनका लागि सभामुख प्रयोग भएको छ । हाम्रो माग अहिलेसम्म सम्बोधन भएको छैन । पहिले र अहिलेको अवस्थामा तात्विक भिन्नता आएको छैन ।”



प्रतिक्रिया दिनुहोस्