काठमाडौं, १ जेठ । ललितपुरको गठबन्धन बिग्रदा नेकपा माओवादी केन्द्रलाई ठूलो धक्का लाग्ने देखिएको छ । ललितपुरमा नेपाली काँग्रेस र नेकपा माओवादीको मात्र गठबन्धन बन्दा चुनावी परिणाम माओवादी प्रतिकूल आउने संकेतहरु देखिएको छ ।
ललितपुर महानगरपालिकामा काँग्रेसका चिरिबाबु महर्जनले मतान्तर बढाइरहँदा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य नेकपा एमालेकी मञ्जरी शाक्य बज्राचार्य भन्दा पछाडि छन् । त्यहाँ गठबन्धन पाँचवटै दलबीच बनेपनि ललितपुरको अन्य पालिकामा गठबन्धन बिग्रदाको असर देखिएको छ ।
महालक्ष्मी नगरपालिकामा काँग्रेस र माओवादीको मात्र गठबन्धन गरी मेयरमा माओवादीबाट शिव कट्टेल र उपमेयरमा काँग्रेसकी लक्ष्मी महर्जन उम्मेदवार बनेका छन् । कट्टेले एमालेका हरिगोविन्द श्रेष्ठभन्दा झीनो मतले मात्र अन्तर छन् । कट्टेल आफ्नै गृह वडामा मतान्तर बढाउन नसकेपछि जित्ने सम्भावना कमजोर भएको छ । लक्ष्मी महर्जन एमालेकी वीणा केसीभन्दा पछाडि छिन् । त्यहाँ कलम चिन्हका नकुल थापा उम्मेदवार छन् ।
ललितपुरको गोदावरीमा काँग्रेसका मेयर र उपमेयर दुवै अगाडि छन् । तर, माओवादीले अध्यक्ष पाएको पालिकामा भने एमालेभन्दा पछाडि परेको छ । काँग्रेसले पालिका अध्यक्ष पाएकोमा भने अगाडि छ । तर, उपाध्यक्षमा काँग्रेसका उम्मेदवार अगाडि छन् ।
ललितपुरको मतगणनाको अवस्था हेर्दा माओवादीलाई ठूलो धक्का लाग्ने संकेतहरु देखिएको छ । ललितपुरमा काँग्रेस र माओवादीले नेकपा एसको दाबी बढेपछि गठबन्धन बाहिर बनाएका हुन् ।