इलाम, जेठ १ । इलामका ४ नगरपालिकाकाका मेयर र उपमेयरमा आधा गठबन्धन र आधामा नेकपा (एमाले)का उम्मेदवारले अग्रता लिइरहेका छन्। अहिलेसम्म सूर्योदय नगरमा नेकपा (एकीकृत समाजवादी), इलाम नगरमा नेपाली कांग्रेसअघि छन् भने माई र देउमाई नगरमा एमालेका उम्मेदवारको अग्रता छ।
सबैभन्दा चासोसाथ हेरिएको सूर्योदय नगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट नेकपा (एस)का उम्मेदवार रणबहादुर राईले अग्रता लिएका छन्। उनलाई प्रदेशसभा सदस्यबाट राजीनामा दिएका नेकपा (एमाले) का उम्मेदवार काजीमान कागतेले पछ्याउँदैछन्।
वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा मेयरमा राईले १ हजार २ सय ५३ र कागतेले ८ सय ३ मत ल्याएका छन्। उपमेयरमा गठबन्धनबाट कांग्रेसका दुर्गाकुमार बरालले १ हजार १ सय ६० र एमालेकी दुर्गादेवी भट्टराईले ८ सय २५ मत ल्याएका छन्। अहिले यहाँ वडा २ को गणना भइरहेको छ।