Logo

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता



काठमाडौँ,२ जेठ । कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिएका छन् । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाएका छन् । उनलाई पछ्याउँदै नेकपा एमालेका रामशरण ढुङ्गानाले तीन हजार १०७ मत ल्याउनुभएको निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिए ।

नगर प्रमुखमा नेकपा एकीकृत समाजवादीका कृष्णहरि थापाले एक हजार ३१ मत पाएका छन् । थापा विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख निर्वाचित भएका थिए । नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु फुयाँलले २६८ मत पाएका छन् ।

यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले तीन हजार ९२५ मतका साथ अग्रता कायम गरेका छन् । उनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागाइँले एक हजार ७८८ मत पाएका छन् । समाजवादीका सरस्वती नेपालले ५१९ मतका साथ पछ्याइरहेका छन् । नगर उपप्रमुख राप्रपाका उम्मेद्वारले ४३५ मत पाएका छन्।

वडा नं ९ मा कांग्रेसका अनिल थापा विजयी

नगरपालिकाको ९ नं. वडामा कांग्रेसका अनिल थापा वडाध्यक्ष पदमा विजयी भएका छन् । उनले एक हजार ५०२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले एक हजार ४४१ मत पाएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।

वडा नं १ मा भने यसअघि नै एमालेका मुकुन्द गजुरेल निर्वाचित भइसकेका छन् । उनले एक हजार ७०७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका लक्ष्मण खड्काले एक हजार ४३७ मत पाएको निर्वाचन कार्यालय जनाएको छ । अहिले नगरपालिकाको वडा नं २ र ८ को मतगणना भइरहेको छ ।
नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकामा एमाले विजयी भएको थियो । सो निर्वाचनमा एमालेले छ वटा वडामा वडाध्यक्षसहित नगर उपप्रमुख पदमा पनि विजयी भएको थियो । कांग्रेसले तीन वटा वडामा जितेको थियो । रासस



प्रतिक्रिया दिनुहोस्