Logo

महायोगी गोरखनाथ



 विजयप्रसाद मिश्र:  नाथ परम्परा सनातन धर्मअन्तर्गतको महान् योग परम्पराहरूमध्येको एक हो । योग संस्कृतिको इतिहासमा गोरखनाथ एक महत्त्वपूर्ण योगी हुनुहुन्थ्योे । विशिष्ट सिद्ध योगी गोरखनाथको जीवनकाल १०औँ देखि १३औँ विक्रमाब्दको मध्यमा मानिन्छ । मध्यकालीन धर्म–साधना एवं साहित्यको अप्रतिम व्यक्तित्वका रूपमा गणना गरिन्छ महायोगी गोरखनाथलाई । उहाँका गुरु मत्स्येन्द्रनाथ हुनुहुन्थ्यो जसको बारेमा भनिन्छ कि उहाँ लगभग छ सय वर्षसम्म आफ्नो भौतिक शरीरमा रहनुभएको थियो । उहाँलाई योगका आदिप्रवर्तक भगवान् शिव समान ठान्दथे ।

गोरखनाथ आफ्नो समयका उदारचित्त, कर्मठ–संगठनकर्ता, समाजोद्धारक, लोक–रक्षक, सिद्ध योगी हुनुहुन्थ्यो । शैव, शाक्त, बौद्ध, कापालिक लगायत विभिन्न सम्प्रदायका साहित्यमा उहाँको महानता स्वीकृत छ । हिमालयदेखि समुद्रपर्यन्त भारतवर्षका सुदूरवर्ती क्षेत्रसम्म पुग्दै उहाँले नाथयोगी शैवहरूको संगठन त गर्नुभयो नै, त्यससँगै उपेक्षित–पीडित जनजातिहरू सहित समग्र समाजको उद्धार एवं कल्याणका निम्ति निरन्तर ‘अलख’ जगाउने काम उहाँले गर्नुभएको थियो । मानवताको सन्देश दिएर तत्कालीन समाजलाई स्वस्थ, सबल चारित्रिक आदर्शको मार्गमा अग्रसर हुन प्रेरित गर्नुभयो । निःसन्देह त्यस बेलाको समाजका लागि धार्मिक, साधनात्मक र चिन्तक मनीषिका रूपमा आद्य शंकराचार्य समान उहाँको नाम श्रद्धापूर्वक स्मरण गरिन्छ ।

उहाँको जन्म कसरी र कहिले भएको थियो भन्ने प्रश्न विद्वानहरूका लागि सधैँ एउटा विचारणीय प्रश्न रहेको छ । कतै उहाँको जन्मस्थान नेपाल भनिएको छ, कतै पञ्जाब अथवा गोरखपुर हुन सक्ने मत व्यक्त गरिएको पाइन्छ । जन्म मिति र स्थानका सम्बन्धमा सुनिश्चित उल्लेख नभएकाले जेजति विवाद रहे पनि उहाँको प्रतिभा र महानता भने निर्विवाद छ । यसै पनि ईश्वरीय अवतारको जन्म र कर्म दुवै दिव्य हुन्छन् । भनिन्छ उहाँको जन्म कुनै माता–पिताको रज–विर्यको योगबाट कुनै स्त्रीको गर्भबाट भएको थिएन । वास्तवमा गोरखनाथलाई उहाँका गुरु मत्स्येन्द्रनाथको मानसपुत्र भनिन्छ, अर्थात् उहाँको जन्मको सम्बन्ध उहाँकै गुरुसँग रहेको जनश्रुति पाइन्छ ।

 

भ्रमणशील सिद्ध योगी गुरु मत्स्येन्द्रनाथ अलख जगाउँदै त्यसबेला अयोध्याको नजिकै रहेको जयश्री (कतै–कतै गोदावरी किनारको चन्द्रगिरि) नामको गाउँमा पुग्नभएको थियो । त्यहाँ एक ब्राह्मणीका घरमा भिक्षा माग्न पुग्नुभयो । ब्राह्मणीले बडो श्रद्धाका साथ भिक्षा दिइन् । उनको मुखमण्डलमा तेजस्विता थियो, मनमा भक्तिभाव थियो तर अनुहारमा एक प्रकारको उदासी पनि प्रष्ट देखिन्थ्यो । सिद्धका आँखाबाट त्यो उदासीनता लुक्न सकेन । उहाँले ती ब्राह्मणीलाई उनको खिन्नताको कारण सोध्नुभयो । ब्राह्मणीले आफ्नो कोख शून्य रहेको दुखेसो पोखिन् । कारण बुझेपछि ती योगीले आफ्नो झोलाबाट विभूति निकालेर ती ब्राह्मणीलाई दिँदै भन्नुभयो, “यसलाई खाऊ, समयक्रममा तिमी छोरोकी आमा हुनेछ्यौ ।” योगी त यति भनेर फिर्नुभयो । उता ती ब्राह्मणीले संकोचवश त्यो विभूति खानु कि नखानु भएर छिमेकी आमैसँग सोधिन् । ती आमैले केही हानी नै पो हुने हो कि भनेर डर देखाउँदै त्यो विभूति नखान भनिन् । त्यसपछि लोकनिन्दाको भयले उनले आफ्नो ग्वाली नजिकै गोबर फ्याँकेको ठाउँमा लगेर हुत्याइदिइन् ।

समय बित्दै गयो । उनले त्यो प्रकरण नै बिर्सिसकेकी थिइन् । एकदिन अचानक तिनै योगी मत्स्येन्द्रनाथ उनको आगनमा आएर फेरि अलख जगाउँदै भिक्षा माग्न थाल्नुभयो । उनी बाहिर आइन् । उनलाई देखेर योगीले सोध्नुभयो, “खोइ त ! छोरो खोइ ? अब त बाह्र वर्षको भयो होला होइन ?” योगीको कुरा सुनेर ती ब्राह्मणी डराइन् । सत्यनिष्ठ ती ब्राह्मणीले वास्तविकता उल्लेख गरिन् ।

योगीको आग्रहमा उनले विभूति फ्याँकेको ठाउँ देखाइदिइन् । “माता ! त्यो विभूति अभिमन्त्रित थियो । निष्फल हुने थिएन !” भन्दै विभूति फ्याँकेको ठाउँमा गएर योगी मत्स्येन्द्रनाथले ‘अलख’को ध्वनि दिनुभयो । त्यो सुनिसक्दा त्यस ठाउँबाट एउटा तेजपुञ्जले आवेष्टित बाह्रवर्षे बालक उत्पन्न भएर योगीको चरणमा दण्डवत भयो । गोबरद्वारा रक्षित हुनाले गुरु मत्स्येन्द्रनाथले त्यस बालकको नाम ‘गोरक्ष’ राखिदिनुभयो । नाथ सम्प्रदायमा दीक्षित भएपछि उहाँ गोरक्षनाथ नामले प्रसिद्ध भयो । यसरी गुरु मत्स्येन्द्रनाथका मानस पुत्रको रूपमा अयोनिज सिद्धको जन्म भएको कथा प्रसिद्ध छ ।

 

मत्स्येन्द्रनाथले ती बालकलाई योग परम्परामा दीक्षित गर्दै शिक्षा दिनुभयो । नाथ सम्प्रदायको उत्पत्ति आदिनाथ भगवान् शिवबाट भएको मानिन्छ । आदिनाथ शिवबाट जुन तत्त्वज्ञान मत्स्येन्द्रनाथले प्राप्त गर्नुभयो त्यसैलाई शिवावतार शिष्य गोरक्षनाथलाई प्रदान गर्नुभयो । नाथ पन्थ र साधनाका प्रतिष्ठापक परमाचार्यका रूपमा गोरक्षनाथ नै प्रसिद्ध हुनुहुन्छ । महाकालयोग शास्त्रमा स्वयं शिवको वचन छ—

अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत !

योग–मार्ग प्रचाराय मयारूपमिदं धृतम् ।।

अर्थात् म नै गोरक्ष हुँ । त्यसलाई मेरै रूप जान । योग मार्गको प्रचारका लागि मैले नै यो रूप धारण गरेको हुँ । यस प्रकार श्री गोरक्षनाथ स्वयं सच्चिदानन्द शिवकै साक्षात्स्वरूप हुनुहुन्छ ।

महाराष्ट्रका प्रसिद्ध सन्त ज्ञानेश्वरले ज्ञानेश्वरीमा गोरक्षनाथको स्मरण आफ्ना गुरु निवृत्तिनाथका गुरु गहनीनाथका गुरुका रूपमा गर्नुभएको छ । १४औँ शताब्दिका स्वामी विद्यारण्यकृत शंकर दिग्विजय नामको ग्रन्थमा आद्यशंकराचार्यले आफ्ना शिष्यलाई ‘प्राचीनकालमा मत्स्येन्द्रनाथ नामका एक महान् योगीले परकाया प्रवेश गरी आफ्नो शरीरको रक्षाको दायित्व आफ्ना शिष्य गोरक्षनाथलाई सुम्पिनुभए झैँ म पनि परकाया प्रवेश गर्नुअघि तिमीलाई मेरो शरीरको रक्षाको दायित्व प्रदान गर्दछु ।’ भन्नुभएको प्रसङ्ग उल्लेख गर्नुभएको छ । त्यस्तै गोस्वामी यदुनाथ कृत बल्लभ दिग्विजय ग्रन्थमा महाप्रभु बल्लभाचार्यले पश्चिम यात्राका क्रममा रैवतक पर्वतमा गोरक्षनाथ प्रभुको श्रीविग्रहको दर्शन गर्नुभएको उल्लेख छ ।

नासिकका नाथ योगीहरूको मत अनुसार गोरखनाथ नेपालबाट पञ्जाब हुँदै नासिक पुग्नुभएको थियो । गोरखनाथ मन्दिर गोरखपुरको महन्त परम्परा अनुसार उहाँ झेलम (पञ्जाब) बाट आउनुभएको थियो ।

मेघमालासनीकृत र नेपाल सम्बन्ध

नेपालमा गोरखनाथको मेघमालासनीकृत रूपको ठूलो महिमा रहेको पाइन्छ । भनिन्छ नेपालमा विरोधीहरूको प्रचारका कारण नाथ योगीहरूले धेरै दुःख पाउनु परेको कुरा जब गोरक्षनाथले सुन्नुभयो तब उहाँले योगबलले मेघमालालाई खिँचेर आफ्नो जाँघमुनि दबाएर राख्नुभएको थियो । परिणामतः त्यसबेला नेपालमा अकाल पर्न गयो । चारैतिर वर्षा नहुनाले अन्नको अभाव भयो । त्राहि–त्राहि मच्चियो । यस कुरालाई बुझेका मानिसले जब यो कुरा राजासँग निवेदन गरे, तब समाधानका लागि गुरु मत्स्येन्द्रनाथको सहयोग लिनुपर्ने परामर्शअनुरुप राजा–प्रजा सबैले मिलेर गुरु मत्स्येन्द्रनाथलाई प्रसन्न पारेर यात्रा गराउँदै गोरक्षनाथका समक्ष पु¥याएका थिए । गुरुको स्वाग्तका निम्ति जब गोरक्षनाथ समाधिबाट उठ्नुभयो तब मेघमाला मुक्त भएका थिए । यस प्रसङ्गको स्मृतिमा आज पनि नेपालमा गुरु मत्स्येन्द्रनाथको रथ यात्रा निकाल्ने गरिन्छ ।

महायोगी गोरखनाथले नेपाल आएर बागमती नदीको किनार, मृगस्थलीमा विकट तप गर्नुभएको थियो । यहाँ आज पनि नाथ योगीहरू मठ स्थापित छ । यहाँका शाह वंशमाथि गोरखनाथको कृपाको कथा पनि प्रसिद्ध छ । शाह वंशका पराक्रमी राजा पृथ्वीनारायण शाहलाई उहाँकै कृपाबाट शक्ति प्राप्त भएको थियो भन्ने कथा प्रचलित छ, जसको बलमा पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान गर्नुभएको थियो ।

दाङका राजकुमार रत्न परीक्षकले पनि गोरक्षनाथबाट दीक्षित भएर दीर्घायु प्राप्त गरी सिद्ध बाबा रतननाथका नामले नेपाल मात्र नभएर समग्र एशियालाई नै आफ्नो योगसिद्धिले चकित तुल्याउनु भएको थियो । गोरक्षनाथले बाबा रतननाथलाई एउटा अमृत पात्र दिनुभएको थियो । भनिन्छ त्यसमा गोरक्षनाथज्यूको आत्मा प्रतिष्ठित छ । दाङमै एउटा विशाल मन्दिर निर्माण गरी बाबा रतननाथले त्यस अमृत पात्रको पूजाको परम्परा बसाल्नुभएको थियो, जुन आज पनि कायमै छ । महादेवको आज्ञाले गुरु गोरक्षनाथले देवी पाटनमा तपस्या गर्नुभएको र त्यस क्षेत्रलाई पाटेश्वरी शक्तिपीठका रूपमा स्थापित गर्नुभएको कुरा पनि त्यहाँस्थित शिलालेखमा अंकित छ–

महादेव समाज्ञप्तः सतीस्कन्धविभूषिताम् ।

गोरखनाथयोगीन्द्रसेन पाटेश्वरीमठीम् ।। 

उहाँको कृपा प्रसाद त उज्जैनका राजा भर्तृहरि, स्यालकोटका राजा शालिवाहनका पुत्र पूरन भगत, मेवाडका सूरवीर वाप्पारावल, पञ्जाबका प्रेमी योगी राँझा, बंगालका राजा गोपीचन्द, उडिसाका क्षत्रिय योद्धा विबुधेन्द्रमल, सिन्धिहरूका आराध्य श्री झूलेलाल, सिक्खका आदि गुरु गुरुनानकदेव, सन्त कबीर, विस्नोइ सम्प्रदायका प्रवर्तक जम्भोजी, निरञ्जनी सम्प्रदायका प्रवर्तक हरिदास आलिले पनि प्राप्त गरेका थिए ।

आज पनि नेपाल, भारत, पाकिस्तान र अफगानिस्तानमा गोरखनाथका अनुयायी एवं नेपालका विभिन्न पीठ, काबुल, पञ्जाब, उत्तरप्रदेश, बिहार, बंगाल, राजस्थान र महाराष्ट्रसम्म व्याप्त नाथ–पन्थका गद्दिहरू महायोगी गोरखनाथको विस्तृत महत्ताका परिचायकका रूपमा रहेका छन् । उहाँका विभिन्न पीठ, मन्दिर आदि यत्र–तत्र रहे पनि उहाँको समाधिस्थल कतै पाइँदैन । यसैले पनि उहाँको भक्त–अनुयायीहरूले उहाँ आज पनि अमर योग शरीरमा विद्यमान हुनुहुन्छ र योग्य व्यक्तित्वलाई उहाँको दर्शन–कृपा र दीक्षा प्राप्त हुँदै गर्छ भन्ने सर्वमान्य विश्वास राख्दछन् ।



प्रतिक्रिया दिनुहोस्