काठमाडौं, ३ जेठ । स्थानीय निकायको मतपरिणाम आइरहँदा पूर्वको विराटनगर देखि पश्चिमको धनगढी सम्म स्वतन्त्र उम्मेदवारहरुले तरङ्ग ल्याएका छन् । देशको राजधानी काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडि छन् ।
डेढ लाखभन्दा बढी मतगणना हुन बाँकी रहँदा बालेन ५ हजार मतले केशव स्थापितभन्दा अगाडि छन् । बालेन जीतेमा राजनीतिमा महत्वपूर्ण सन्देश जान सक्छ । यसले राजधानीमै दलहरुप्रति जनताको वितृष्णा प्रकट भइसकेको छ झन् स्पष्ट हुनसक्छ ।
धनगढीमा गोपाल हमाल प्रतिद्वन्द्वीलाई पछि पारेर बढिरहेका छन् । स्वतन्त्र उम्मेदवार हमाल जित्ने प्रबल सम्भावना देखिएको छ ।
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह अगाडि छन् । उनी प्रतिष्पर्धीलाई पछि पार्दै बढेका छन् ।
विराटनगरमा स्वतन्त्र उम्मेदवार उमेश प्रसाद यादवले पनि टक्कर दिइरहेका छन् । उनी केही पछि परेपनि लोकप्रीय मत ल्याइरहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरुले देशका प्रमुख पालिकामै प्रभाव देखाइरहेका छन् । विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवार जितिसकेका छन् । प्रमुख शहरहरुमै जितोन्मुख छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।