काठमाडौं, ३ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह निर्वाचनको पछिल्लो परीणामबाट आत्तिनुपर्ने अवस्था नरहेको टिप्पणी गरेका छन् । उनले प्रारम्भिक चरणमै पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधिहरु निर्वाचित भैसकेको भन्दै आँत्तिनुपर्ने अवस्था भने नरहेको स्पष्ट पारे ।
आज (मंगलबार) पार्टी कार्यालयमा मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्बोधनको क्रममा भनेका थिए,‘नावी नतिजाबाट हामी आत्तिनुपर्ने छैन । प्रारम्भिक चरणमै हामीले हाम्रो पार्टीबाट ५ सय भन्दा बढि प्रतिनिधि निर्वाचित गरेका छौ, त्यसमा वडाध्यक्ष नै सय नाघेका छन्, १५ देखि २० वटा पालिका प्रमुख नै छन् ।’ यद्धपी उनले चुनावमा गठबन्धनबीच राम्रो तालमेल नभएको संकेत गरे । र, यसबारेमा छिट्टै गम्भीर समिक्षा गर्ने पनि उनको भनाई छ ।
यसअघि अध्यक्ष नेपालले मदन–आश्रितप्रति श्रद्धाञ्जली अर्पण गर्दै वक्तव्य जारी गरेका थिए । नेपालले जारी गरेको वक्तव्यमा भनिएको छ,‘….हाम्रो पार्टीको सही कदमले नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने छ र यसले सफलता प्राप्त गर्नेमा हामी विश्वस्त छौं । अन्त्यमा, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति पुन: भावपूर्ण श्रद्धाञ्जली !”
२०७९ जेठ ३ गते, २९ औं मदन–आश्रित स्मृति दिवस ! नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय निधन भएको २९ वर्ष पूरा भएको छ । जननेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको थियो । सर्वप्रथम म उहाँहरुप्रति उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता हुनुहुन्थ्यो । उहाँले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रुपमा जनताको बहुदलीय जनवाद (जबज) को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई नेपालमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । यसैगरी कुशल संगठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप संगठन निर्माणमा अतुलनीय भूमिका खेल्नुभयो ।
कमरेड पुष्पलालले कोर्नुभएको जनवादी क्रान्तिको रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्याउने संकल्प लिएको छ । दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहंकारका विरुद्ध बिद्रोह गरेर हामीले पार्टी पुनर्गठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेका हौं । नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने उद्धेश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासंग जुधेर लोकतन्त्रका मुल्य-मान्यता स्थापित गर्न अहिले हाम्रो पार्टी लागिपरेको छ ।
जनताको बहुदलीय जनवादको मूल्य र मान्यतालाई दृढताका साथ आत्मसात गर्दै अगाडी बढ्न जरूरी छ । जनताले संघर्ष गरेर स्थापित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्ने र नेपाली कम्युनिष्ट आन्दोलनलाई विसर्जनको दिशामा धकेल्न असंवैधानिक कदम चाल्दै मुलुकलाई प्रतिगमनतिर लैजान कम्युनिष्ट आवरणमा भएका गलत कृयाकलाप विरुद्ध हामीले संघर्ष गर्यौं, संविधान र लोकतन्त्रको रक्षा गर्यौं । पछिल्लो समय हामीले गरेको प्रतिगमनविरुद्धको संघर्षको परिणाम स्वरुप मुलुकको राजनीतिले निकास पाएको हो ।
हामी हाम्रो पार्टी संरचना र पार्टी आबद्ध जनसङ्गठनहरूलाई सामाजिक–आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्न तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक–आर्थिक प्रश्न, विकास निर्माण तथा उत्पादनसँग जोडिएका बिषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउन र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निमार्ण गर्न चाहन्छौं । हाम्रो पार्टीको सही कदमले नै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्ने छ र यसले सफलता प्राप्त गर्नेमा हामी विश्वस्त छौं । अन्त्यमा, जननेता मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितप्रति पुन: भावपूर्ण श्रद्धाञ्जली !
माधवकुमार नेपाल
अध्यक्ष