Logo

“कांग्रेस अनुशासित पार्टी होइन, केन्द्रमा नेताहरू गठबन्धन भनेर कुर्लन्छन्, तल कार्यकर्ताले मान्दैनन्”



काठमाडौं, ६ जेठ । जनता समाजवादी पार्टीका युवा नेता मनीष सुमनले आफ्नो पार्टीको जितमा गठबन्धनको योगदान खासै नभएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले भने, “राजनीतिक व्यापार होइन । गठबन्धन त झन् व्यापार होइन । तर स्थानीय निकायको निर्वाचनमा गठबन्धन गर्दा हामीले पाएको पाठ भविष्यका लागि काम लाग्दो छ । यो निर्वाचनले नेपाली कांग्रेस अनुशासित पार्टी होइन भन्ने देखायो । केन्द्रमा शीर्ष नेताहरु गठबन्धन, गठबन्धन भनेर कुर्लिए, तल तलका कार्यकर्ताले मानेनन् । हामीले जति अपेक्षा गरेका थियौं, त्यति पाउन सकेनौं । महानगरमा हामीलाई गठबन्धनको योगदान थोरैमात्र छ ।”
जसपा नेता सुमनले कांग्रेसबाट धोका पाएको चाहिँ नभन्ने बताए । उनले थपे, “कांग्रेसबाट सोझै धोका भयो त भन्न मिल्दैन । तर पार्टीका केही साथीहरु खुसी थिएनन् । हामीले गठबन्धनलाई खुलेर साथ दियौं । तर अन्य घटकबाट त्यति मिहिनेत भएको भएनौं । एक त गठबन्धन नै ढिलो । एउटै निर्वाचन चिह्न राख्न पनि सकिएन । मेयर, उपमेयरमा पार्टीको उम्मेदवार नहुने, मतपत्रमा रहिरहने हुँदा कन्फ्युजन पनि भयो ।”
आफ्नो दलले पहिले पाएको सिटमा सुधार गर्ने पनि उनले औंल्याए । सुमनले भने, “जसपा भनेको वैकल्पिक शक्ति हो । हामीले एकाध ठाउँमा गठबन्धन गरे पनि मधेस प्रदेशमा स्वच्छ प्रतिस्पर्धा गर्यौं । जसपासँग आफ्नै ल्याकतले निर्वाचित हुने क्षमता छ । २० सिटमा जितेका छौं, १८ सिटमा अगाडि छौं । तर, जनकपुरमा गठबन्धनको उम्मेदवारलाई कसैले मदत गरेनन् । कांग्रेसका साथी नै स्वतन्त्र भनेर उठे । विराटनगरमा कांग्रेसको मेयरलाई भोट दियौ, उपमेयरमा भोट पाएनौं । वीरगन्जमा हामी नै बलियो भएकाले फरक परेन ।”
स्थानीय तहको निर्वाचन दलीय आधारमा गर्न नहुने पनि उनले औंल्याए । सुमनले भने, “स्थानीय तहको निर्वाचन दलीय आधारमा हुने कुरा नै होइन । तर नेताहरुले जबर्जस्ती दलीय आधारमा गर्न खोजे । स्थानीय तह त विकासका लागि हो । त्यसैले काठमाडौं लगायतका स्थानमा जनताले दलभन्दा माथि उठेर मतदान गरेका छन् ।”
अर्थमन्त्री र गभर्नरका कारण मुलुकको अर्थतन्त्र समस्यामा पर्न सक्ने पनि उनले बताए । सुमनले थपे, “मुलुकको अर्थतन्त्र श्री पशुपतिनाथले चलाएका छन् । अर्थमन्त्री र गभर्नरको बोलचालै छैन रे । भोलिको बजेटमा त्यो कुरा प्रतिबिम्बित भयो भने के हुन्छ ?”



प्रतिक्रिया दिनुहोस्