Logo

इलामको सूर्योदयमा समाजवादीका राई र उपप्रमुखमा कांग्रेसका बराल निर्वाचित



इलाम, जेठ ७ । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबादुर राई (आरबी) विजयी भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई एक हजार ८५२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

काजीमानले १० हजार ५७९ मत ल्याएका छन् । राईले १२ हजार ४३१ मत पाएका छन्। उनी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका थिए। राई यसअघिसमेत यस नगरपालिकाको प्रमुख हुन् ।

उपप्रमुख पदमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल विजयी बनेका छन् । उनी ११ हजार ८५४ मतसहित विजयी भएका हुन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार दुर्गादेवी भट्टराईले नौ हजार १२२ मत ल्याएकी छन्।

भट्टराई निवर्तमान नगर उपप्रमुख हुन् । १४ वटा वडा रहेको यो नगरपालिका जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह हो । यस पालिकाको मत परिणाम सार्वजनिक भएसँगै जिल्लाका सबै पालिकाको मतगणना सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस्