काठमाडौं, जेठ ११ । प्रमुख राजनीतिक दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा परिवारका सदस्यलाई शक्तिको आडमा उम्मेदवार बनाए पनि मतदाताले कतै स्वीकार गरेका छन् भने कतै अस्वीकार गरेका छन् ।
निर्वाचनमा राजनीतिक दलका शीर्ष नेताले आफ्ना श्रीमती, छोराछोरीदेखि भाइबुहारीसमेतलाई उम्मेदवार बनाएका थिए । राजनीतिमा योगदान नभए पनि केन्द्रीय राजनीतिमा आफ्नो राम्रो प्रभाव भएकै कारण पालिकामा उनीहरूले परिवारका सदस्यलाई उम्मेदवार बनाए पनि मतदाताले भने अस्वीकार गरेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा पराजित प्रकाशमान सिंहले श्रीमतीलाई काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । श्रीमती सिर्जना सिंहलाई उनले पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनाए पनि काठमाडौं महानगरका मतदाताले अस्वीकार गरेका छन् ।
काठमाडौं महानगरको मतगणना अहिले जारी छ । पछिल्लो मतपरिणामअनुसार काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । शाहले ५० हजार ३० मत ल्याउँदै गर्दा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेत्री सिर्जना श्रेष्ठ ३० हजार ७ सय ६७ मत ल्याएर दोस्रो स्थानमा रहेकी छन् । एमालेका नेता एवं काठमाडौंका पूर्वमेयरसमेत रहेका मेयरका उम्मेदवार केशव स्थापितले ३० हजार १५ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
कांग्रेसका अर्का नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले समेत आफ्ना भाइलाई रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । कांग्रेसको जिल्ला सभापतिसमेत रहेका रामकृष्ण खाँणको जिल्लामा राम्रो पकड छ । केन्द्रमा दाइ बालकृष्ण भएपछि उनले मेयरमा आफ्नै नाम सिफारिस गराए । र केन्द्रबाट दाइले टिकट मिलाइदिए । गत निर्वाचनमा उनी मेयरको उम्मेदवार भए पनि पराजित भएका थिए ।
तिलोत्तमा नगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस नेता रामकृष्ण खाँणले १७ हजार ५ सय ४३ मत ल्याएर अग्रता लिइरहेका छन् । खाँणलाई एमालेका उम्मेदवार मोहन चापागाँइैले १६ हजार ६ सय ५९ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, कांग्रेस नेता मोहन बस्नेतले आफ्ना भाइ बालकृष्ण बस्नेतलाई सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । बस्नेतले ७ हजार ७ सय २८ मत ल्याएर विजयी भइसकेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणु दाहाललाई चितवनको भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका थिए । रेणु ५२ हजार ३० मत ल्याएर मेयरमा विजयी भइसकेकी छन् ।
उता सभामुख अग्नि सापकोटाले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा भाइ कृष्णप्रसाद सापकोटालाई उम्मेदवार बनाएका थिए । सापकोटा ११ हजार ७२ मत ल्याएर मेयरमा विजयी भइसकेका छन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले समेत आफ्ना छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उपमेयरको उम्मेदवार बनाए । तर, विराटनगरका मतदाताले उनलाई पत्याएनन् । मेयरमा दाबी गर्दै आएका अमरेन्द्र उपमेयरमा समेत विजयी हुन सकेनन् ।
यसैगरी, जसपाबाट मधेस प्रदेशका मुख्यमन्त्री भएका लालबाबु राउतले श्रीमतीलाई गाउँपालिकाको उपप्रमुखको उम्मेदवार बनाए । तर, विजयी गराउन सकेनन् । राजधानी दैनिकबाट