जाजरकोट, जेठ १२ । स्कुल जानका लागि बालबालिका श्रम गर्छन् भने बालअधिकारसम्बन्धी महासन्धिले पनि त्यसको अनुमति दिन्छ । तर, जाजरकोटका बालबालिका पढाइमा भन्दा बढी कामतिर लागेका देखिन्छन् ।
‘किन काफल बेचेर बसेको, पढ्नुपर्दैन’ भनेर सोध्दा उनीहरू ‘यति काफल किनिदिनुस् न दाइ, कापी–कलम किन्नुछ’ भनेर जवाफ दिन्छन् ।
दुई घण्टा पैदल हिँडेर सदरमुकाम खलङ्गामा काफल ल्याएर बिक्री गर्ने बालबालिकाको समय पढाइमा भन्दा काममा बढी लागेको स्थानीय वासिन्दाहरूको भनाइ छ । विद्यालयमा चाहिने शैक्षिक सामग्री, कापी कलम भर्ना शुल्कका लागि आफ्नो खर्च आफैं जुटाउनु उनीहरूको बाध्यता देखिन्छ ।
आर्थिक अवस्था कमजोर भएको, अभिभावकको रोजगारी नभएपछि पढ्ने चाहना राखेका बालबालिकाहरू निन्द्रा र भोकले सताउने उमेरमा बिहान बिहानै सरदमुकामको खलङ्गा बजारमा काफल बोकेर आउने गरेका छन् ।
भेरी नगरपालिका– ६ का सञ्जिव बुढा १३ वर्षका भए । उनी गाउँकै लक्ष्मी माध्यमिक विद्यालय भेरेमा कक्षा ६ मा अध्ययन गर्छन् । पढीलेखी शिक्षित बन्नकै लागि बिहान ५ बजे आँखा मिच्दै उठेर काफलको भारी बोकेर खलङ्गा सदरमुकाममा बेचेर जाने गरेका छन् । अभिभावकसँग कृषि पेसा र ज्यालामजदुरीबाहेक अन्य रोजगारी नहुँदा पढ्ने लेख्ने इच्छा भएकाले आम्दानी गर्न काफल बेच्न आउने गरेको उनी बताउँछन् ।
सोही विद्यालयमा कक्षा ६ मै अध्ययनरत छात्रा हीरा थापा पनि पढाइ खर्चका लागि काफल लिएर आउने गर्छन् । बुबा आमाको रोजागरी र अन्य आम्दानीको स्रोत नभएका कारण काफलको भारी बोकेर आउनु परेको उनको भनाइ छ ।
भेरी नगरपालिकाको भेरे, डिगा, तिमिले लगायतका गाउँबाट महिला बालबालिका बिहान सदरमुकाम खलङ्गा बजारमा काफलको भारी बोकेर घर घर डुलिरहेका हुन्छन् । ‘बुबा आमासँग पैसा हुँदैन बुबाको रोजगारी छैन, ज्यालामजदुरी गरेको पैसाले कपडा र खानेकुरा किनमेल गर्दै सकिन्छ बुबा आमासँग पैसा हुँदैन माग्न सकिँदैन आफनो खर्च आफैं जुटाउन काफल ल्याएर आउछौं थापाको कथन छ ।
महिला, बालबालिकालाई विशेष प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गर्ने स्थानीय सरकारको लक्ष्य भए पनि उनीहरूको आवश्यकताअनुसार काम गर्न नसक्दा पढ्ने लेख्ने समयमा भारी बोकेर हिड्नुपर्ने बाध्यता रहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ । file photo