Logo

वाम एकताका नाममा एमाले प्रचण्ड र माधव नेपाललाई जीउहजुर गर्न जाँदैनः महेश बस्नेत



काठमाडौं, १२ जेठ । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्नु अतिवाद भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “स्थानीय तह निर्वाचनमा हामी ओभर कन्फिडेन्ट भयौँ । पार्टी विभाजनलाई कम आँक्यौं । ५ दलको गठबन्धन र पार्टीभित्रकै अन्तरविरोधका कारण पनि अपेक्षाकृत जित निकाल्न सकिएन । तर राजनीतिलाई स्थिर बनाउन जबर्जस्त काम गर्ने नेता चाहिन्छ । केपी ओली जत्तिको ताकत भएको मुलुकमा अरु छैनन् । त्यसैले केपीले हारेको र अरुले जितेको भन्ने म मान्दिनँ । पपुलर मतमा एमाले अगाडि छ । वडाध्यक्ष कांग्रेसकै हाराहारीमा जितेका छौं । संसदीय चुनावमा एमालेलाई फेरि पनि सत्ता सम्हाल्ने अवसर आउँछ । तर ओलीको राजीनामा माग्नु अतिवाद हो । घनश्याम भुसाल कमरेडको प्रतिक्रिया के निहुँ पाऊँ कनिकाको भात खाऊँ भनेजस्तै भयो ।”
सत्ता गठबन्धन कांग्रेस र माओवादीको बिजनेस ग्रुप जस्तै भएकाले ओरालो लाग्ने निश्चित भएको बस्नेतले बताए । उनले भने, “सत्ता गठबन्धन कांग्रेस र माओवादीको बिजनेस ग्रुप जस्तो हो । नाफाका लागि जस्तो सुकै ठाउँमा जे पनि गरेका छन् । बाँकी दलहरुले धेरै ठाउँमा धोका पाएका छन् । त्यसैले गठबन्धन अब ओरालो लाग्छ । कमरेड केपी ओली र उपेन्द्र यादवको भेटघाट त्यसकै एउटा द्योतक हो ।”
साथै उनले मधेसवादी पार्टीहरुसँग एमालेको दूरी घटेको औंल्याए । बस्नेतले थपे, “नेकपा एस र माओवादी केन्द्र नाम मात्रका वामपन्थी हुन् । प्रचण्ड र माधव नेपाल कांग्रेसको भक्ति हुनुभएको छ । वामपन्थी एकताका नाममा नेकपा एमाले उहाँहरुको जीउहजुर, दर्शन गर्न जाला जस्तो लाग्दैन । आगामी निर्वाचनमा वाम र गैर वाम तालमेल होला जस्तो लाग्दैन । तर मधेसवादी दलहरुसँग एमालेको दूरी घटेको छ । मधेसको मुद्दामा एमाले मात्र इमानदार छ ।”
काठमाडौंमा बालेन साह र धरानमा हर्क राईको जित राजनीतिक दलहरुलाई खतराको घण्टी भएको पनि एमाले नेता बस्नेतले स्वीकारे । उनले भने, काठमाडौंमा बालेन साह र धरानमा हर्क राईको जित राजनीतिक दलहरुका निम्ति खतराको अलार्म बजेको हो । काठमाडौंमा एमालेका उम्मेदवार केशव स्थापित धेरै विवादित हुनुभयो । सचेत मतदाताले देशको झन्डा ओढ्ने, चस्मा लगाउने बालेनको करिओग्राफी मन पराए ।”



प्रतिक्रिया दिनुहोस्