Logo

कांग्रेसबाहेक सबै दल असन्तुष्ट



काठमाडौं, जेठ १३ । काठमाडौं ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा सत्तारूढ नेपाली कांग्रेसबाहेकका सबै दलले अपेक्षा गरेअनुसार मतपरिणाम नआएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । कांग्रेसले स्थानीय तहको मतपरिणाम सकारात्मक भएको जनाएको छ ।

कांग्रेस उपसभापति धनराज गुरुङले पार्टीले कम्तीमा ५१ प्रतिशतभन्दा बढी पालिका जित्ने लक्ष्य राखेपछि अहिलेको नतिजा पनि सकारात्मक भएको बताउँछन् । टिकट वितरण तथा तालमेल गर्दा भएको प्राविधिक त्रुटिका कारण अपेक्षाअनुसार परिणाम आउन नसकेको उनले बताए । यद्यपि आएको मतपरिणामबाट सत्तारूढ गठबन्धन उत्साहित नै भएको टिप्पणी गुरुङको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले २ सय ६६ प्रमुख÷अध्यक्ष र २ सय २३ उपप्रमुख÷उपाध्यक्षमा विजयी भएको थियो । २०७९ को स्थानीय तह निर्वाचनबाट कांग्रेसले ३ सय २७ प्रमुख÷अध्यक्ष विजयी भएको छ भने एकमा अग्रता लिएको छ । यस्तै ३ सय १ उपप्रमुख÷उपाध्यक्ष विजयी भएको कांग्रेसले एकमा अग्रता लिएको छ ।

२०७४ को परिणामभन्दा २०७९ को स्थानीय तह निर्वाचनमा एमालेको नतिजा खस्केको छ । पहिलो दलबाट दोस्रोमा झरेको एमालेले आएको मतपरिणाममा सन्तुष्ट छैन । एमालेले पार्टीभित्रैको अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा सोचेअनुसार नतिजा ल्याउन नसकेको निष्कर्षमा पुगेको छ । पाँच दलीय सत्तारूढ गठबन्धनका कारण महानगर र उपमहानगरमा राम्रो नतिजा ल्याउन नसकेको एमालेले पार्टीभित्रको अन्तर्घात गम्भीर समीक्षा गर्न जरुरी भएको जनाएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमाले २ सय ९४ प्रमुख÷अध्यक्ष र ३ सय ३१ उपप्रमुख÷उपाध्यक्षमा विजयी भएको थियो । तर, २०७९ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ५ प्रमुख÷अध्यक्ष विजयी भएको छ । २ सय ३७ उपप्रमुख÷उपाध्यक्ष विजयी भएको एमाले १ वटा पालिकामा अग्रता लिएको छ ।

माओवादी केन्द्रले २०७४ को स्थानीय तह निर्वाचनभन्दा २०७९ को स्थानीय तह निर्वाचनमा बढी पालिका जितेको छ । तर, आन्तरिक त्रुटि, गत निर्वाचनमा विजयीलाई नै दोह¥याउँदा अपेक्षा गरेअनुसार नतिजा आउन नसकेको माओवादी केन्द्रको निष्कर्ष रहेको छ । यद्यपि आएको नतिजालाई माओवादी केन्द्रले सकारात्मक नै भनेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्