Logo

यसरी घट्दैछ पेट्रोलियम पद्धार्थको मूल्य



काठमाडौं, १३ जेठ । सरकारले विभिन्न शिर्षकमा पेट्रोलियम पद्धार्थमा कर लिदै आएको छ । भन्सार बिन्दु देखि पेट्रोल पम्पसम्म करै करले छोपेको छ । यसकारण उपभोक्ताले चर्को मूल्य तिर्नुपरिरहेको छ ।

भन्सार बिन्दुमा पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ २३ पैसा र डिजेलमा १२ रुपैयाँ २ पैसा कर छ । पूर्वाधार शुल्क बापत प्रतिलिटर १० रुपैयाँ शुल्क लिइरहेको छ । विभिन्न शिर्षकमा गरी हालको पेट्रोलको मूल्य अनुसार प्रतिलिटर कर ६३ रुपैयाँ २३ पैसा पुगेको छ । डिजेल ४५ रुपैयाँ ९१ पैसा कर छ । मट्टितेलमा १३ रुपैयाँ ६६ पैसा कर छ । हवाइ इन्धनमा आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर उठाउने गर्छ । खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा कर उठाउँछ ।

डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शुल्क, पूर्वाधारको अतिरिक्त कर लाग्छ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनसँग ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा त कर नै लाग्छ । ढुवानी पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ १७ पैसा, प्राविधिक नोक्सानी समेत थपिदा पेट्रोलको खास मूल्य १९५ प्रतिलिटर पुगेको छ ।

अब सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी पेट्रोलियम पद्धार्थको मूल्य घटाउन कर घटाउने निर्णय लिइसकेको छ । विभिन्न शिर्षकको कर घटाएर प्रतिलिटर १० रुपैयाँ घटाउने तयारी भएको छ ।

१० महिनामै ९२ अर्ब ७८ करोड इन्धनबाट सरकारले कर उठाउँदा आयल निगमले चालु आर्थिक वर्षमा ४७ अर्ब घाटा खाइसकेको जनाएको छ । निगम घाटामा छ भने सरकारले मोटो रकम कर उठाइरहेको छ । यसको मारमा उपभोक्ता परिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्